काठमाडौं । बजाजले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल सार्वजनिक गर्ने तयारी थालेको छ । बजाज अटोले २५० सीसी इन्जिनमा निर्माण गरेको बजाज ट्रेकर फेस्टिभ सिजनमा भारतमा लन्च गर्ने भएको हो ।
कम्पनीले भारतको विभिन्न भूभागमा सडक परीक्षण भइरहेको स्पाइ तस्बिरहरू बाहिरिएको हो । बजाजले भारतपछि ब्राजिल लगायत अन्य अन्तर्राष्ट्रिय बजारमा पनि बिक्री थाल्ने बताइएको छ । यद्यपि, कम्पनीले भने आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
बजाज ब्राजिलका कार्यकारी निर्देशक वाल्डयर फेरैराले ब्राजिलमा २०२६ को अन्त्य अघिनै नयाँ एड्भेन्चर मोटरसाइकल उपलब्ध हुने जनाएका हुन् ।
हालै फेरि पनि परिक्षणमा देखिएको बजाज ट्रेकरको इन्जिन सिलिन्डरमा स्पष्ट कुलिङ फिन देखिन्छ भने लिक्विड कुल्ड इन्जिनमा आवश्यक पर्ने ठूलो रेडिएटर देखिँदैन । त्यसैले नयाँ एड्भेन्चर मोटरसाइकलमा एयर र आयल कुल्ड इन्जिन प्रयोग हुने सम्भावना छ । यसमा पल्सर एन २५० मा प्रयोग भएको २४९ सीसी, सिंगल सिलिण्डर इन्जिन प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।
पल्सर एनको उक्त इन्जिनले २४.५ पीएस पावर र २१.५ एनएम टर्क उत्पादन गर्छ । एड्भेन्चर मोटरसाइकलका लागि बजाजले यसको गियरिङ र इन्जिन ट्युनिङमा परिवर्तन गरी लो इन्ड र मिड रेन्ज टर्कलाई प्राथमिकता दिन सक्ने देखिन्छ । यसले उत्पादन लागत नियन्त्रणमा राख्नसमेत मद्दत गर्नेछ ।

पछिल्लो स्पाइ तस्बिरबाट मोटरसाइकलमा फुल्ली डिजिटल टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर रहने पनि पुष्टि भएको छ । जुन डिजाइन नयाँ एन १६० मा प्रयोग गरिएको टीएफटी युनिटसँग मिल्दोजुल्दो देखिन्छ । यसमा स्मार्टफोन कनेक्टिभिटी, गुगल म्याप मिररिङ, नोटिफिकेसन, म्युजिक कन्ट्रोललगायतका सुविधा सपोर्ट गर्छ । बजाजले नयाँ एड्भेन्चर मोटरसाइकलमा पनि यस्तै कनेक्टिभिटी फिचर उपलब्ध गराउन सक्ने सम्भावना छ ।
यसमा दिइएका स्विचगियर पनि नयाँ एन १६० सँग मिल्दोजुल्दो देखिएको छ । बजाजले दुवै मोटरसाइकलमा केही इलेक्ट्रोनिक कम्पोनेन्ट साझा गर्न सक्ने देखिन्छ ।
नयाँ मोटरसाइकलमा वायर स्पोक ह्विल, डुअल पर्पस टायर अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक, ठूलो फ्रन्ट बेक, अपराइट राइडिङ पोजिसन र अग्लो ह्याण्डलबार सेटअप दिइएको छ । साथै, लामो सिंगल पीस सिटका कारण राइडर र पिलियन दुवैका लागि पर्याप्त ठाउँ उपलब्ध हुने अपेक्षा गरिएको छ ।
यसको अधिकांश बडीवर्क उत्पादन संस्करणको नजिक पुगेको देखिए पनि हेडलाइट, बडि ग्राफिक्स, फ्रन्ट सेक्शन अझै क्यामोफ्लाज गरिएको छ भने अन्य टेक स्पेक पनि खुलाइएको छैन ।


