नेपालमा एसआरएका ११११ युनिट ईभी बिक्री, दुई नयाँ विद्युतीय ट्रक ल्याउँदै

काठमाडौं । भीजी मोटर्स नेपालमा एसआरएम ब्राण्डका १ हजार १११ युनिट सवारी साधन बिक्री पूरा गरेको छ ।

कम्पनीले ३ वर्षको अवधिमा उक्त संख्यामा एसआरएम ब्राण्डका विद्युतीय सवारी बिक्री गरेको हो । कम्पनीले सन् २०२३ अगस्टमा एसआरएम ब्राण्ड नेपाल भित्र्याएको थियो ।

१,१११ सवारीको उपलब्धिपछि भीजी मोटर्सले नेपालमा १० हजार एसआरएम सवारी बिक्री गर्ने नयाँ लक्ष्य तय गरेको छ । एसआरएमले नेपालमा थप विस्तारका लागि दुईवटा विद्युतीय ट्रक र एउटा एमपीभी ल्याउने तयारीसमेत गरिरहेको छ ।

कम्पनीले चार्जिङ पूर्वाधार, सर्भिस सुविधा, प्राविधिक तालिम, स्पेयर पाट्र्सको उपलब्धता तथा ग्राहक सेवामा थप लगानी गर्दै विद्युतीय व्यावसायिक सवारीको प्रयोगलाई देशभर विस्तार गर्ने योजना बनाएको छ ।

भीजी मोटर्सले विशेष समारोह आयोजना गरी १,१११ युनिट एसआरएम ईभी बिक्रीको उत्सव मनाएको छ । कार्यक्रममा एसआरएमका प्रतिनिधि, ग्राहक, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

एसआरएमको एसियाली बजारका महाप्रबन्धक वाङ लु, एसियाली बजारका बिक्री प्रबन्धक लुसिया वाङ, भीजी मोटर्सका प्रबन्ध निर्देशक विशाल अग्रवाल, प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे, बिजनेस हेड चन्दन रौनियार लगायतको उपस्थिति थियो । कार्यक्रममा चर्चित नेपाली तेक्वान्दो खेलाडी तथा एसआरएमका ब्राण्ड एम्बेसडर दीपक विष्टको पनि सहभागिता थियो ।

एसआरएम र भीजी मोटर्सले १,१११ सवारी बिक्रीको उपलब्धिलाई “१,१११ यात्रा, १,१११ जीविका र १,१११ कथा”का रूपमा व्याख्या गरेका छन् । एसआरएमका विद्युतीय सवारी यात्रु ओसारपसार, विद्यालय तथा संस्थागत यातायात, सामान ढुवानी र साना व्यवसायका विभिन्न आवश्यकतामा प्रयोग हुँदै आएका छन् ।

कम्पनीका अनुसार नेपालका चुनौतीपूर्ण सडक अवस्थालाई ध्यानमा राख्दै एसआरएमका विद्युतीय सवारीमा ग्राउन्ड क्लियरेन्स बढाउनुका साथै मोटरको शक्ति र टर्क वृद्धि गरिएको छ । कम्पनीले सीएटीएलका ब्याट्र प्रयोग गर्दै आएको छ । एसआरएमले सर्तसहित ब्याट्रीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ ।

भीजी मोटर्सका अनुसार नेपालमा एसआरएमका ३० भन्दा बढी सर्भिस टचपोइन्ट तथा वर्कसप सञ्चालनमा छन् । बढ्दो विद्युतीय सवारी इकोसिस्टमअन्तर्गत १०० भन्दा बढी चार्जिङ स्टेसन स्थापना भइसकेका छन् । कम्पनीले ४० जिल्लाका १,५०० भन्दा बढी मेकानिक तथा ५० भन्दा बढी ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकलाई ईभी प्रविधि र सडक सुरक्षासम्बन्धी तालिम दिएको छ ।


Back_to_top