काठमाडौं । सहरको ट्राफिकको अवस्थाले गर्दा पछिल्लो दिनमा अटोमेटिक कार खोज्ने ग्राहकहरु बढ्दै गएका छन् । विशेषत महिला र पाको उमेर समूहका मानिसले अटोमेटिक कार खोज्ने गरेका छन् ।
म्यानुअल गाडीको तुलनामा अटोमेटिक गियरबक्स जडान भएका गाडीहरु केहि महंगो हुने गर्छ । तरपनि सहरी क्षेत्रमा अटोमेटिक कार खोज्ने ग्राहक बढेसँगै विभिन्न कम्पनीले एएमटी गियरबक्समा कम मूल्यका गाडी उपलब्ध गराउँदै आएका छन् ।
अहिले बजारमा उपलब्ध मध्ये सबैभन्दा कम मूल्यको एएमटी कार रेनोले उपलब्ध गराउँदै आएको छ । साथै, हुन्डाईले पनि आफ्नो इन्ट्री कार सेन्ट्रोलाई एएमटी गियरबक्समा विक्री गर्दै आएको छ । मारुती सुजुकीको एस–प्रेसो र सेलेरियो पनि ग्राहकले बुकिङ गरेकोखण्डमा एएमटी गियरबक्समा उपलब्ध गराउन सक्ने कम्पनीले जनाएको छ ।
यस्तोमा हामीले नेपाली बजारमा उपलब्द रेनो क्वीड र हुन्डाई सेन्ट्रोको एएमटी कारमा भएका मूल्य र फिचरको भिन्नतालाई केलाउने प्रयास गरेका छौं ।

इन्जिन
गाडीको सबैभन्दा महत्वपूर्ण अंग भनेकै इन्जिन हो । यी दुबै कारमा फरक क्षमताको इन्जिन दिइएको छ । हुन्डाईले सेन्ट्रोमा १०७८ सीसी क्षमताको फोर सिलिण्डर इन्जिन दिएको छ । रेनोले भने क्वीडमा ९९९ सीसी क्षमताको थ्रि सिलिण्डर इन्जिन दिएको छ । दुबैले आफ्नो सानो ह्याचव्याक कारमा पेट्रोल इन्जिन दिएका छन् ।
हुन्डाई सेन्ट्रोमा रहेको इन्जिनले अधिकतम ५५०० आरपीएममा ६८ बीएच पावर प्रदान गर्छ भने रेनो क्वीडमा रहेको इन्जिनले अधिकतम ५५०० आरपीएममा नै ६७ बीएच पावर प्रदान गर्नेछ । सेन्ट्रोको इन्जिनले ९९ एनएम टर्क प्रदान गर्छ भने क्वीडले ९१ एनएम टर्क प्रदान गर्छ । दुबै कारमा ५ स्पीड एएमटी गियरबक्स दिइएको छ ।
सुरक्षा फिचर
सुरक्षाको लागि दुबै कारमा एबीएसको साथ इबीडी, सेन्ट्रल लक, पावर डोर लक, चाइल्ड सेफ्टी लक, दुई वटा एयरव्याग, हेलोजिन हेडल्याम्प, रियर सिट वेल्ट, सिट वेल्ट वार्निङ, साइड इमप्याक्ट बीम, फ्रन्ट इमप्याक्ट बीम, एड्जस्टेवल सिट, इन्जिन इमोविलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ जस्ता फिचर रहेका छन् । यसका अतिरिक्त हुन्डाई सेन्ट्रोमा डे नाइट रियर भ्यू मिरर र डोर जार वार्निङ फिचर दिइएको छ ।

दुबै कारमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेकको प्रयोग गरिएको छ । समान १४ इन्चको स्टील ह्वील दुबै कारमा पाउन सकिन्छ ।
साइज
साइजको कुरा गर्दा लम्बाइमा रेनो क्वीड लामो छ भने चौडाई र उचाईमा सेन्ट्रो अगाडि छ । क्वीडको लम्बाई ३७३१ एमएम रहेको छ । सेन्ट्रोको लम्बाई ३६१० एमएम मात्रै छ ।
सेन्ट्रोको चौडाई १६४५ एमएम र उचाई १५६० एमएम रहेको छ । तर, रेनो क्वीडको चौडाई १५७९ एमएम र उचाई १४७४ एमएम मात्र रहेको छ । ग्राउन्ड क्लियरेन्समा भने क्वीड अगाडि छ । क्वीडमा १८४ एमएमको ग्राउन्ड क्लियरेन्य पाउन सकिन्छ भने सेन्ट्रोमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
मूल्य
मूल्यमा रेनो क्वीड सेन्ट्रोको तुलनामा ३ लाख ४७ हजार रुपैयाँले सस्तो रहेको छ । क्वीडको अधिकतम खुद्रा मूल्य २९ लाख ९६ हजार रुपैयाँ रहेको छ भने क्वीडको अधिकतम खुद्रा मूल्य २६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

