एउटै फ्याक्ट्रीमा बनेका दुई नयाँ प्रतिस्पर्धी

काठमाडौं । निसान र रेनो विश्वभर एलायन्स गरेर गाडी उत्पादन गर्दै आएका कम्पनी हुन् । यी दुई कम्पनीको स्वामित्व समेत क्रस होल्डिङ रहेको छ । यस्तोमा एक अर्का बीच नै प्रतिस्पर्धा हुनेगरि दुबै कम्पनीले भारतमा नयाँ मोडल बजारमा उतारेका छन् ।

निसान म्याग्नाइट एक महिनादेखि भारतमा विक्री हुँदै आएको छ भने, रेनोले किगरलाई आगामी विहिबार बजारमा ल्याउने घोषणा गरेको छ । रेनो किगरको विक्री भने आगामी फेब्रुअरी महिनाबाट मात्रै सुरु हुने कम्पनीको भनाई छ । यस्तोमा सब फोर मिटर एसयूभी सेग्मेन्टमा आएका यी दुई कारको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।

यसअघि पनि यी दुबै कम्पनीले भारतमा उस्तै किसिमका उत्पादन ल्याएर प्रतिस्पर्धा गरेकै हुन् । रेनो डस्टरबाट प्रेरित भएर निसानले ल्याएको टेरानो बजारमा असफल भएको थियो । पछि टेरानोलाई बन्द गरेर निसानले किक्सलाई ग्लोवल मोडलको रुपमा भारतमा उत्पादन गरेको थियो ।

मूल्यका हिसावले लगभग उस्तै रहने यी दुई एसयूभीमा कुनमा ग्राहकले धेरै फिचर पाउन सकिएला भन्ने ग्राहकको दिमागमा चल्दै आएको विषय हो । निसान म्याग्नाइटको टप भेरियन्टमा उपलब्ध नरहेको सनरुफ रेनो किगरमा पाउन सक्ने छन् ।

यसका अलावा निसान म्याग्नाइट र रेनो किगर एउटै प्ल्याटफर्ममा बनेका एसयूभी हुन् । साथै, दुबै कारमा समान १.० थ्रि सिलिण्डर नेचुरल एस्पायर्ड र १.० टर्बो पेट्रोल इन्जिन अप्सनमा रहने छन् । फरक यसको डिजाइन ल्याङ्वेज र फ्रन्ट फेसिकामा धेरै रहने छ ।

एउटै फ्याट्रीमा उत्पादन हुने यी दुई कारमा निसान म्याग्नाइटले भारतमा निकै राम्रो व्यापार गर्न सफल भइसकेको छ भने, नेपालमा दुई हप्तापछि विक्री सुरु गर्ने तयारी भइरहेको छ । भारतमा विक्री सुरु भएको ४० दिनमा नै यसको बुकिङ ३५ हजार यूनिट भएको निसान इन्डियाको दाबी छ ।

तर, रेनो किगरले भारतमा कस्तो बजार पाउला भन्ने अहिल्यै आँकलन गर्न कठिन हुन्छ । रेनो किगरपनि भारतमा सार्वजनिक भएको केहि समयपछि नै नेपाली बजारमा आउने पक्का जस्तै छ । यस्तोमा नेपाली बजारमा यी दुई कम मूल्यका एसयूभी बीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top