काठमाडौं । यामाहाले आगामी महिना भारतमा सार्वजनिक गर्ने तयारी गरेको नयाँ मोटरसाइकल एफजेड एक्स अहिले चर्चामा रहन सफल भएको छ । कम्पनीले भारतमा उत्पादन गर्ने रेट्रो डिजाइनको यो मोटरसाइकल कम सीसी र कम मूल्य रहने अनुमानसँगै अहिले चर्चामा रहेको हो ।
एफजेडएस भि थ्रीमा रहेको इन्जिनमा नै यो मोटरसाइकल आउने छ । अहिले एफजेडएस भि थ्री ३ लाख २९ हजार ९०० मूल्य निर्धारण भएर नेपालमा विक्री वितरण भइरहेको छ । यस्तोमा एफजेड-एक्सको मूल्य ३ लाख ५० हजारदेखि ३ लाख ६० हजारको बीचमा नै रहने अनुमान गर्न सकिन्छ ।
यामाहा स्टाइलिस मोटरसाइकलको लागि परिचित ब्राण्ड हो । जापानी उत्पादकले भारतमा उत्पादन गरेको यो नयाँ मोटरसाइकलको टिभी विज्ञापन सुटिङको क्रममा तस्विर बाहिर आएसँगै यसमा रहेका फिचरहरुको विवरण पनि बाहिर आउन सुरु भएको हो । यस्तोमा यामाहाको नयाँ मोडल नेपालमा पनि निकै चर्चामा रहने हाम्रो अनुमान रहेको छ ।
स्टाइलिस डिजाइन
सुटिङको क्रममा रेट्रो स्टाइल डिजाइनमा देखिएको यो मोटरसाइकलमा थुप्रै मोर्डन र सार्प फिनिसिङ पाउन सकिन्छ । गोलो एलइडी हेडल्याम्प, टियरड्रप सेप्पडमा देखिएको इन्धन ट्याङ्क, सिंगल पीस सिट, वल्ड-स्कुल ट्यूवलर पिलियन ग्रावरेल, सिंगल पिस ह्याण्डलवार, अल्ली अगाडि रहेको फुटपेग जस्ता फिचरहरु चालकको लागि निकै आकर्षक र आरामदायी रहने छन् ।
साइज
यसको टाइप अप्रुभल सर्टिफिकेट पनि सार्वजनिक भएसँगै मोटरसाइकलको साइज पनि बाहिर आएको छ । यसको लम्बाई २०२० एमएम, चौडाई ७८५ एमएम, उचाई १११५ एमएम रहेको छ भने १३३० एमएमको ह्वीलवेस दिइएको छ ।
एफजेडएस भि थ्रीको तुलनामा यो मोटरसाइकल लम्बाई, चौडाई, उचाई र ह्वीलवेसमा केहि ठूलो रहेको छ ।
इन्जिन
एफजेडएस भि थ्रीकै समान १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स रहने छ ।
अन्य फिचर
एफजेड एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फ्रर्क र पछाडि मोनोशक सस्पेन्सन, अलोय ह्वील, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।
सार्वजनिक हुने मिति
यामाहाले यसको टिभीसी समेत निर्माण गरिसकेकोले जुन २०२१ सम्ममा यसलाई बजारमा ल्याउने अनुमान गरिएको छ ।


