काठमाडौं । अंग्रेजी आर्थिक वर्ष अप्रिल १, २०२० देखि मार्च ३१, २०२१ सम्ममा विभिन्न ३५ ब्राण्डले ११ हजार ७ सय ३ यूनिट कार नेपाल ल्याएका छन् । यो कार आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ५ हजार यूनिटले कम हो ।
कोभिड १९ को संक्रमण तिब्रबन्दा चैत, बैशाख, जेठ र असार लगभग पूर्ण लकडाउनमा रहेकाले कार आयात घटेको हो । त्यसपछि पनि उत्पादक कम्पनीले माग अनुसार गाडीको आपूर्ति गर्न नसक्दा नेपालमा कार आयात आर्थिक वर्ष २०१९/०२० को तुलनामा घटेको देखिन्छ ।
एक वर्षमा सबैभन्दा धेरै कार आयात हुन्डाईले गरेको छ भने, माज्दाको आयात शून्य रहेको छ । माज्दाले नेपालको आधिकारीक डिलर परिवर्तन गरेकाले एक वर्षमा कार आयात नभएको हो । गत महिनाबाट भने माज्दाको आयात सुरु भइसकेको छ ।
गतवर्ष प्रिमियम ब्राण्ड बीएमडब्ल्यूको नेपालमा आधिकारीक विक्री सुरु भएको थियो । कम्पनीले पहिलो वर्ष २५ यूनिट बीएमडब्ल्यूका कार आयात गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । त्यसैगरि मर्सिडिजका ४ र टेस्लाका ३ यूनिट गाडी गतवर्ष आयात भएका छन् । त्यस्तै ल्याण्डरोभरका ६ यूनिट र ज्यागुअरका २ यूनिट प्रिमियम कार नेपाल आएका छन् ।
हुन्डाई अघिल्लो वर्ष जस्तै यो वर्षपनि पहिलो स्थानमा रहन सफल भएको छ । हुन्डाईले २ हजार ८४४ यूनिट नयाँ गाडी आयात गरेको देखिन्छ भने दोस्रो स्थानमा रहेको मारुती सुजुकीले २ हजार ६०५ यूनिट गाडी आयात भएको देखिन्छ । मारुती सुजुकीको भन्दा हुन्डाईले २३९ यूनिट बढी कार आयात गरेको देखिन्छ ।
तेस्रो स्थानमा किया आएको छ । किया यसअघि निकै पछाडि रहेको थियो । कियाको भारतीय उत्पादन सेल्टोस र सोनेटको आयातले कियालाई तेस्रो स्थानमा उकालेको हो । कियाले १ हजार २४५ यूनिट गाडी आयात गरेको विभागको तथ्यांकमा देखिन्छ ।
सूचीको चौथो स्थानमा झरेको महिन्द्राले १ हजार २०५ यूनिट गाडी आयात गरेको देखिन्छ । कम्पनीको आयात घट्नुमा महिन्द्रा इन्डियाले सप्लाई गर्न नसक्नुलाई मुख्य कारण बताएको छ ।
पाँचौ र छैटौ स्थानमा रहेको फोर्ड र टाटाको बीचमा पनि कडा टक्कर देखिएको छ । फोर्डले ७०९ यूनिट प्यासेन्जर गाडी आयातगर्दा टाटाले ७०५ यूनिट आयात गरेको छ ।
निसान र डाट्सनको आयात ६५२ यूनिट भएको छ भने रेनोले ४७० यूनिट र टोयोटाले २६९ यूनिट गाडी नेपाल ल्याएका छन् ।
यस्तो छ ३५ ब्राण्डको आयात

यो सूचीमा हामीले पीकअपलाई पनि समावेश गरेका छौं । सूचीमा उल्लेखित गाडी भन्सार विन्दुबाट आयात भएको संख्या हो । यसलाई नै विक्री तथ्यांक भने मान्न सकिदैन ।


