काठमाडौं । मोटरसाइकललाई सुरक्षीत बनाउन प्रयोग हुने एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) भारतले १५० सीसीभन्दा माथिका मोटरसाइकलमा अनिर्वाय गरेको छ । भारतमा सबै किसिमका १५० सीसी क्षमताका मोटरसाइकलमा एबीएस फिचर उपलब्ध रहेका छन् । तर, नेपालमा आउने मोडलमा भने एबीएस फिचर हटाएर ल्याउने गरिएको छ ।
सडक दुर्घटना न्यूनिकरण र मानव सुरक्षाको लागि अनिर्वाय गरिएको एबीएस फिचर थप भएर आउँदा १० देखि १५ हजार रुपैयाँ महंगो पर्ने भएकाले त्यस्ता फिचर सबै मोटरसाइकलमा नदिएको विक्रेता कम्पनीहरुको भनाई छ ।
विशेषत नेपालमा सर्वाधिक विक्री हुने १५० सीसी सेग्मेन्टका बजाज पल्सर, टीभीएस अपाचे आरटीआर १६० फोर भी, यामाहा एफजेडएस भी टु, होन्डा यूनिकर्न, होन्डा एक्सव्लेड र हर्नेट जस्ता मोडलमा अहिले पनि एबीएस फिचर उपलब्ध रहेका छैनन् ।
भारतले अप्रिल १, २०१९ देखि नै १५० सीसी र त्यसभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधनमा एबीएस अनिर्वाय गरेको थियो । यही सेग्मेन्टमा रहेका बजाज पल्सर एनएस १६०, यामाहा एफजेडएस भि थ्री, सुजुकी जिक्सर १५०, टीभीएस आरटीआर १६० फोर भिको एउटा भेरियन्टमा भने एबीएस फिचर उपलब्ध रहेको छ ।

किन आवश्यक छ एबीएस फिचर
एन्टी लक ब्रेकिङ सिस्टम अर्थात् एबीएसले सवारी गुडिरहेको बेला अचानक ब्रेक लगाउनु पर्दा मोटरसाइकललाई चिप्लनबाट रोक्ने सुरक्षा फिचर हो । यो प्रणालीको विकासले अचानक ब्रेक लगाउदा चिप्लेर हुन सक्ने संभावित दुर्घटनालाई कम गर्न सहयोग पुगेको छ ।
एबीएसमा ह्वील स्पीड सेन्सर हुन्छ, जसले सवारी गुडिरहेका बेला तत्काल ब्रेक लगाउँदा एकैपटक चक्कालाई लक हुन दिँदैन । जब ह्वील लक हुन खोज्छ, त्यति बेला हाइड्रोलिक भल्भ सिरिजले ब्रकिङलाई नियन्त्रण गर्ने र सवारीलाई चिम्पनबाट रोक्ने काम गर्छ ।

