६४ रुपैयाँमा किनेको पेट्रोलमा थप ६८ रुपैयाँ खर्च !

काठमाडौं । निषेधाज्ञाको बीचमा नै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएसँगै जनस्तरमा यसको विरोध भइरहेको छ । निगमले यी सबै पेट्रोलियम पदार्थमा २ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

अहिलेको विद्यमान व्यवस्थामा सरकारले एक लिटर पेट्रोलमा ५५ रुपैयाँ ८५ पैसा विभिन्न शिर्षकमा करले लिने गरेको छ ।

‘अहिले मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५६ पैसा घाटा रहेको छ । घाटा कम गर्न पनि मूल्य बढाउनु परेको हो’, निगमका प्रबक्ता विनिता उपाध्यायले मेरोअटोसँग भने ।

उपाध्यायका अनुसार सरकारी करको अलावा निगम प्रशासनका लागि १ रुपैयाँ ८४ पैसा खर्च लाग्ने गरेको छ । साथै, प्रतिलिटर ढुवानी भाडा ५ रुपैयाँ ७८ पैसा र डिलर खर्च ४ रुपैयाँ ८३ पैसा लाग्दै आएको छ ।

भारतीय आयल निगमले पछिल्लो पटक पठाएको मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको खरिद मूल्य ६३ रुपैयाँ ९९ पैसा रहेको छ । त्यसमा भन्सार शुल्क वापत सरकारले प्रतिलिटर २५ रुपैयाँ २० पैसा कर लगाएको छ । त्यसमा भन्सार सेवा शुल्क वापत एक हजार लिटरको २५ रुपैयाँ थप रकम पनि निगमले तिर्नु पर्ने हुन्छ ।

सडक मर्मत शुल्कको रुपमा प्रतिलिटर ४ रुपैयाँ, प्रदुषण कर वापत प्रतिलिटर १ रुपैयाँ ५० पैसा, पूर्वाधार निर्माण वापत प्रतिलिटर १० रुपैयाँ, मूल्य अभिवृद्धि कर वापत प्रतिलिटर १३ रुपैयाँ ९२ पैसा र मूल्य स्थिरिकरण कोषमा प्रतिलिटर १ रुपैयाँ २१ पैसासहित समग्रमा सरकारले प्रतिलिटर ५५ रुपैयाँ ८५ पैसा उठाउँदै आएको छ ।

टेवलमा हेर्नुस् मूल्य र विभिन्न शिर्षकको खर्च

स्रोतः नेपाल आयल निगम


Back_to_top