‘हुन्डाई क्रेटा फेसलिफ्ट’ परिक्षणमा

काठमाडौं । हुन्डाई मोटर्सको सफल एसयूभी क्रेटाको सेकेन्ड जेनेरेशन मोडल गत वर्ष बजारमा आएको हो । सन् २०१५ को अन्त्यबाट बजारमा आएको क्रेटालाई हुन्डाईले २०१८ मा फेसलिफ्ट गरेको थियो भने सन् २०२० को मार्चमा सेकेन्ड जेनेरेशन सार्वजनिक गरेको थियो ।

अहिले पनि भारतमा सर्वाधिक विक्री हुने कम्प्याक्ट एसयूभी क्रेटालाई नजिकबाट टक्कर दिने मोडल अर्को बन्न सकेको छैन । यस्तोमा हुन्डाईले सन् २०२० को अन्तिम क्वाटरसम्ममा बजारमा ल्याउने तयारी सहित फेसलिफ्ट मोडलमा काम गर्न सुरु गरेको समाचारहरु बाहिर आएका छन् ।

हुन्डाईले साउथ कोरियामा नयाँ क्रेटाको टेस्ट गरिरहेको तस्विरहरु सार्वजनिक भएका हुन् । परिक्षणमा देखिएको गाडीलाई पूरै छोपिएको भएतापनि गोप्यरुपमा खिचिएका तस्विरले यसको अगाडिको भागमा धेरै परिमार्जन गरिएको अनुमान लगाउन सकिन्छ ।

नयाँ फेसलिफ्ट क्रेटाको ग्रिलमा व्यापक परिमार्जन हुने अनुमान गरिएको छ । नयाँ जेनेरेशन टुसानको ग्रिल नयाँ क्रेटामा रहने रिपोर्टहरुले उल्लेख गरेका छन् । यसको स्प्लीट हेडल्याम्प डिजाइनमा पनि धेरै परिवर्तन गरिएको हुन सक्ने छ भने डे टाइम रनिङ लाइटलाई ग्रीलसँग मर्ज गरिएको अनुमान गरिएको छ ।

फरक किसिमको अलोय ह्वील, ३६० डिग्री क्यामरा, हेडअप डिस्प्ले जस्ता नयाँ फिचर फेसलिफ्ट मोडलमा थपिने अनुमान गरिएको छ ।
के्रटा फेसलिफ्टमा इन्जिन भने पुरानै निरन्तर रहने छ । यसमा १.५ लिटरको नेचुरल्ल एस्पायर्ड पेट्रोल र १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटरको टर्बो डिजल इन्जिन रहने छ ।


Back_to_top