काठमाडौं । अमेरिकाको सिकागोस्थित ब्याट्री स्टार्टअप ‘प्योर लिथियम’ले ईभीको लागि आवश्यक ब्याट्री प्रविधिमा ठूलो सफलता हात पारेको दावी गरिएको छ । प्योर लिथियम कम्पनीले विकास गरिरहेको ‘लिथियम मेटल’ ब्याट्रीले प्रयोगशाला ९ हजार ३१५ पटक चार्ज/डिस्चार्ज साइकल पूरा गरेको हो ।
कम्पनीको दाबीअनुसार यो परम्परागत लिथियम आयन ब्याट्रीको तुलनामा तीन गुणाभन्दा बढी लाइफ साइकल हो । समान परीक्षण परिस्थितिमा विकास भइरहेको अन्य कुनै लिथियम मेटल ब्याट्रीले यस्तो परिणाम हासिल गरेको आफूहरुको जानकारीमा नरहेको कम्पनीले जनाएको छ ।
प्योर लिथियमले विकास गरेको प्रविधिको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै परम्परागत लिथियम आयन ब्याट्रीमा प्रयोग हुने ‘ग्राफाइट एनोड हटाएको’ छ । त्यसको सट्टा कम्पनीले लिथियम मेटल एनोड प्रयोग गरेको हो ।
कम्पनीकी सीईओ एमिली बोडोइनका अनुसार ग्राफाइट हटाउँदा ब्याट्रीको तौल र आकार घटाउँदै बढी ऊर्जा भण्डारण गर्न सकिन्छ । उनका अनुसार कम्पनीको प्रविधिले हाल प्रयोग भइरहेका ब्याट्रीको तुलनामा तौल आधा र ऊर्जा घनत्व दोब्बरसम्म बनाउन सक्ने सम्भावना छ ।
प्योर लिथियमको पहिलो पुस्ताको ब्याट्रीमा ऊर्जा घनत्व ३०० वाट आवर प्रति किजी रहेको कम्पनीले जनाएको छ । दोस्रो पुस्ताको ब्याट्रीमा यो क्षमता ४२५ वाट आवर÷केजी पु¥याउने लक्ष्य कम्पनीले राखेको छ ।
यस ब्याट्रीमा क्याथोडतर्फ ‘लिथियम आइरन फस्फेट’ रसायन प्रयोग गरिएको छ । यसले निकेल, म्याङ्गानिज र कोबाल्टजस्ता महँगा सामग्रीको आवश्यकता हटाउँछ । ग्राफाइटसमेत हटाइएकाले आपूर्ति शृंखला र लागत घट्ने सम्भावना देखिन्छ ।
हाल विश्वको अधिकांश ग्राफाइट चीनमा प्रशोधन हुने भएकाले ब्याट्री उद्योग चीनमा ठूलो मात्रामा निर्भर छ । प्योर लिथियमले उत्तर अमेरिकी आपूर्ति शृंखलामै आधारित भएर ब्याट्री उत्पादन गर्ने लक्ष्य राखेको छ ।
अमेरिकी प्योर लिथियम कम्पनीले अहिले सिकागोमा पाइलट उत्पादन लाइन निर्माण गरिरहेको छ । साथै, व्यावसायीकरणका लागि साझेदार खोजिरहेको छ । कम्पनीका अनुसार ४० भन्दा बढी कम्पनीसँग प्रविधि विस्तार र व्यावसायिक उत्पादनका विषयमा छलफल भइरहेको छ ।
अहिलेसम्म बजारमा आइनसकेको ब्याट्रीले प्रयोगशालामा देखिएको प्रदर्शनलाई व्यावसायिक उत्पादनमा कायम राख्न सक्छ वा सक्दैन भन्ने विषय अहिले मुख्य हो । यदि, सफल भएमा भने ग्राफाइटमाथिको निर्भरता घटाउँदै उच्च ऊर्जा घनत्व, लामो आयु र क्षेत्रीय आपूर्ति शृंखला भएको नयाँ पुस्ताको ईभी ब्याट्री बजारमा आउने देखिन्छ ।


