काठमाडौं । हुन्डाईले ६ र ७ सिट अप्सनसहित नयाँ एसयूभी अल्काजार भारतमा सार्वजनिक गरेको छ । कम्पनीले एक महिना अघि नै भारतमा सार्वजनिक गर्ने योजना बनाएको नयाँ एसयूभी कोभिड संक्रमणको कारण बजारमा आएको थिए ।
हुन्डाई क्रेटाको प्ल्याटफर्ममा तयार भएको नयाँ एसयूभी अल्काजारमा २७६० एमएमको ह्वीलवेस दिइएको छ । ट्वीक्ड ग्रिल, अपग्रेडेड बम्पर, दुई एग्जस्ट पाइप, आल्मुनियम स्कीड प्लेट, १८ इन्चको अलोय ह्वील जस्ता फिचर यसको एक्सटेरियरमा पाउन सकिन्छ ।
कम्पनीले यसमा २.० लिटर क्षमताको पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिएको छ । यसको इन्जिन टुसानको भन्दा पावर फुल रहेको छ ।
यसमा प्रयोग भएको २.० लिटर पेट्रोल इन्जिनले अधिकतम १५९ हर्सपावर र १९२ एनएम टर्क प्रदान गर्ने छ । उक्त इन्जिनमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर्र अटोमेटिक गियरबक्स दिइएको छ ।
यसमा रहेको डिजेल इन्जिन भने क्रेटाबाट नै लिइएको छ । उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्ने छ । यसमा पनि ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर्र अटोमेटिक गियरबक्स दिइएको छ ।
अल्काजारमा कम्पनीले १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्च कै इन्ट्रुमेन्ट क्लष्टर, ३६० डिग्री क्यामेरा, पानारोमिक सनरुफ, आइएसओ फिक्स चाइल्ड सिट, वायरलेस चार्जिङ जस्ता फिचर दिएको छ ।


