स्वीफ्ट फेसलिफ्ट दुई भेरियन्टमा विक्री सुरु, यस्तो छ मूल्य

काठमाडौं । मारुती सुजुकी स्वीफ्टको फेसलिफ्ट मोडल नेपालमा विक्री सुरु भएको छ । कम्पनीले यसअघिको मूल्यमा ५० हजार रुपैयाँ बढाएर यसको विक्री सुरु गरेको हो । बैंशाखमा नै यसको विक्री सुरु गर्ने भनिएपनि कोभिड १९ को दोस्रो लहरको कारण विक्री सुरु हुन सकेको थिएन ।

कम्पनीले स्वीफ्टलाई भिएक्सआई र जेडएक्सआई दुई भेरियन्ट नेपाल ल्याएको हो । भिएक्सआई भेरियन्टको मूल्य ३१ लाख ४९ हजार र जेडएक्सआई भेरियन्टको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

फेसलिफ्ट स्वीफ्टमा धेरै ठूलो परिमार्जन भने पाउन सकिदैन । यद्यपी पावर भने पहिलेको भन्दा बढी रहेको छ । स्वीफ्टको अगाडिको ग्रिलमा परिमार्जन देख्न सकिन्छ । नयाँ ग्रिलमा लामो सिधा क्रोम फिनिसिङ दिइएको छ । एलइडी प्रोजेक्टर हेडल्याम्पको साथमा दिइएको डे टाइम रनिङ लाइट, १५ इन्चको अलोय ह्वील र ड्यूल टोन कलर अप्सनसमेत नयाँ स्वीफ्टमा पाउन सकिन्छ ।

स्वीफ्टको इन्ट्रुमेन्ट क्लष्टर पनि परिमार्जन गरिएको छ । यसमा ४.२ इन्चको कलर टिएफटी डिस्प्ले पाउन सकिन्छ । पहिलाको मोनोक्रोम यूनिटको तुलनमा टिएफटी डिस्प्ले निकै उत्कृष्ट देखिन्छ । ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पहिलेभन्दा राम्रो सिट क्वालिटी, क्रुज कन्ट्रोल, नयाँ पार्किङ क्यामेरा, स्टेरिङ माउन्ट कन्ट्रोल, लेदर र्याप स्टेरिङ ह्वील, इन्जिन स्टार्ट/स्टप बटम, अटो क्लाइमेट कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेका छन् ।

सुरक्षाको लागि कारमा दुई एयरव्याग, इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम (इएसपी) दिइएको छ । यस प्रोग्रामको साथमा हिल होल्ड एसिस्ट प्रदान गरिएको छ । एबीएस, इबीडी, आइएसओ फिक्स चाइल्ड सिट पाउन सकिन्छ ।


Back_to_top