अमेरिकी कम्पनी ट्राइटनले भारतमा इलेक्ट्री कार उत्पादन गर्ने

काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी ट्राइटनले भारतमा प्लान्ट स्थापना गरेर कार उत्पादन गर्ने भएको छ । कम्पनीले त्यसको लागि भारतको तेलंगना राज्यमा प्लान्ट स्थापना गर्ने भएको हो ।

तेलंगना राज्य सरकारसँग सम्झौँता गरेसँगै २१ अर्व भारतीय रुपैयाँमा कम्पनीले नयाँ प्लान्ट बनाउने छ । उक्त प्लान्टबाट इलेक्ट्रीक पीकअप, सेडान कार, लग्जरी एसयूभी र अटो रिक्सा उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

ट्राइटनले भारतमा आफ्नो पहिलो इलेक्ट्रीक कारको रुपमा ‘ट्राइटन एन फोर’ इलेक्ट्रीक सेडान कार ल्याउने जनाएको छ । उक्त कारले टेस्लासँग सिधा प्रतिस्पर्धा गर्ने जनाइएको छ । यी दुबै अमेरिकी इलेक्ट्रीक सवारी साधन निर्माता कम्पनी भारतमा आफ्नो व्यवसाय विस्तार गर्न लागेका छन् ।

तत्काल अमेरिकी बजारमा उत्पादन हुने ट्राइटन एन फोर भारतमा विक्री गर्ने लक्ष्य कम्पनीले लिएको छ । हाई पर्फमेन्ट लिमिटेड एडिसनको रुपमा सुरुमा १०० यूनिट एन फोर भारत आउने जनाइएको छ ।

ट्राइटन एन फोरमा ७५ किलोवाट आवरको व्याट्री प्याक उपलब्ध रहने छ । उक्त व्याट्रीले फुल चार्जमा ५२३ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । यसको लङ रेञ्ज मोडलमा १०० किलोवाट आवरको व्याट्री उपलब्ध रहने छ । यसको रेञ्ज भने ६९७ किलोमिटर रहेको छ ।

भारतमा नै उत्पादन प्लान्ट स्थापना भएपछि ट्राइटनका उत्पादन नेपाली बजारमा पनि आउन सक्ने छन् । अहिल्यै यो गाडी नेपाल आउने छ भन्न चाहिँ कठिन हुने छ ।


Back_to_top