काठमाडौं । नेपाल सरकारले विद्युतीय कारमा लगाएको अन्तःशुल्क हटाउँदै भन्सार कर घटाएसँगै विद्युतीय कार नेपाल ल्याउन व्यवसायीक घरानाहरु दौडधुप गरिरहेका छन् । विशेषत इलेक्ट्रीक कार आयात गर्ने उद्देश्यले व्यवसायीक घराना चिनियाँ अटो उत्पादककोमा धाइरहेका हुन् ।
चीनमा रेकर्ड विक्री भइरहेको विलिङ मोटर कम्पनीको ‘हाङ्गुवाङ मिनी’, एनआईओ, बाइटन, चाङ्गन र चेरीका उत्पादनमा धेरै प्रतिस्पर्धी देखिएका छन् । नेपालमा अटो व्यवसायमा स्थापित कम्पनीहरु नै चीनबाट इलेक्ट्रीक कार ल्याउन लागि परेका हुन् ।
यी सबै कम्पनीले इलेक्ट्रीक तथा कम्बस्चन इन्जिनमा कार उत्पादन गर्दै आएका छन् । उनिहरुको उत्पादन मध्ये सबै नेपाली व्यवसायीहरुको ध्यान इलेक्ट्रीक कारमा रहेको बुझ्न कठिन छैन ।
विलिङ कम्पनीले उत्पादन गर्दै आएको ‘हाङ्गुवाङ मिनी’ अहिले विश्व बजारमा चर्चा कमाइरहेको गाडी हो । मासिक विक्रीमा टेस्लालाई उछिनेसँगै यसको चर्चा चुलिएको थियो । नेपाल सरकारले विद्युतीय गाडीमा लगाएको कर घटाएसँगै यसलाई ल्याउन व्यवसायीक घराना लागि परेका छन् ।
चेरी नेपालको लागि नयाँ नाम होइन । तर, यसअघि असफल भएको चेरी ल्याउन चौधरी ग्रुप मैदानमा उत्रिएको छ । चौधरी समूहको अलावा अन्य कम्पनीले पनि यसमा प्रयास गरिरहेका छन् । चेरीले सबै किसिमका मोडल उत्पादन गर्ने भएपनि ‘इक्यू वान’मा धेरैको आँखा परेको छ ।
एनआईओ पनि इलेक्ट्रीक कार उत्पादनमा आफुलाई बलियो बनाउँदै लगेको कम्पनी हो । विशेषत इलेक्ट्रीक सेडान र एसयूभीमा कम्पनीले आफुलाई केन्द्रित गर्दै लगेकाले धेरै नेपाली व्यवसायीहरु यसलाई नेपाल ल्याउन लागि परेका हुन् ।

चाङ्गनको आधिकारीक विक्रेतामा एमएडब्लु वृद्धि नियुक्त भइसकेको छ । चाङ्गनले उत्पादन गरेका इलेक्ट्री र पेट्रोलियम पदार्थबाट चल्ने कार नेपालमा आउने छ ।
ग्राहकको आँखा हाङ्गुवाङ मिनी
नेपालमा इलेक्ट्रीक कार किन्न चाहने ग्राहकको नजर भने हाङ्गुवाङ मिनीमा रहेको छ । चीनमा रेकर्ड विक्रीकै कारण चर्चामा रहेको यो गाडीमा १३ किलोवाट आवरको सानो व्याट्री दिइएको छ । यसले एक पटकको फुल चार्जमा केवल १२० किलोमिटर मात्रै रेञ्ज प्रदान गर्ने छ । यसको टप स्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ । कम रेञ्जको कारण चीनमा यसलाई हाइवे ड्राइभिङको अनुमती दिइएको छैन । त्यसैले यसलाई सहर केन्द्रित गाडी भनिन्छ ।

यो कार नेपाली सडकमा गुड्ने मारुती सुजुकी अल्टोभन्दा पनि निकै सानो रहेको छ । अल्टोको लम्बाई ३४५५ एमएम रहेको छ भने हाङ्गुवाङ मिनीको लम्बाई केवल २९१७ एमएम मात्रै रहेको छ । यसको चौडाई १४९२ एमएम र उचाई १६२१ एमएम रहेको छ । यसको नेपालमा मूल्य १५ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।


