बिहिवारबाट विक्री सुरु हुँदै कम मूल्यका दुई एसयूभी

काठमाडौं । नेपाली बजारमा यही साताबाट कम मूल्यका दुई एसयूभी विक्री सुरु हुने भएको छ । संभवत आगामी बिहिवार (१५ जुलाई) बाट टाटा नेक्सन इलेक्ट्रीक र रेनो काइगर विक्री सुरु हुनेछन् ।

यी दुबै एसयूभी नेपाल आइसकेका छन् । काइगरको अहिले डिजिटल लञ्चिङको लागि भिडियो सुटिङ भइरहेको छ भने, नेक्सन यातायात विभागमा रोड वर्दिनेस टेष्ट पुरा गर्ने प्रक्रियामा रहेको छ ।

टाटा नेक्सन इभी अहिले बजारमा विक्री हुँदै आएका इलेक्ट्रीक एसयूभी भन्दा निकै कम मूल्यमा आउने अनुमान गरिएको छ । रेनो काइगर पनि सेग्मेन्ट कै सबैभन्दा कम मूल्यमा आउने छ । काइगरको सुरुवाती मूल्य २८ लाख ४९ हजार रुपैयाँ हुने आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले जानकारी दिएको छ । टाटाको विक्रेता सिप्रदी ट्रेडिङले भने यसको मूल्य सार्वजनिक गरेको छैन ।

यी दुबै एसयूभीको समानता भनेको साइज हो । दुबै एसयूभी ४ मिटरभन्दा छोटो साइजमा उपलब्ध रहेका छन् । कम मूल्यमा पेट्रोल वा इलेक्ट्रीक एसयूभी खोज्ने ग्राहकलाई दुबै कार उत्कृष्ट विकल्प हुनसक्ने छ ।

रेनो काइगर दुई इन्जिन अप्सनमा उपलब्ध रहने छ । यसमा १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । यसमा रहेको टर्बो इन्जिनले ९८.६३ बीएच पावर प्रदान गर्नेछ । तर, टाटा नेक्सनमा भने ३०.२ किलोवाट आवरको व्याट्री र ९५ किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । नेक्सन इभीमा थुप्रै लग्जरी फिचर पाउन सकिन्छ ।

प्रदुषण रहित नेक्सन इभी र नेपाल कै सबैभन्दा कम मूल्यको एसयूभी रेनो काइगरले गाडी किन्ने ग्राहकलाई नयाँ विकल्प प्रदान गर्ने अनुमान गर्न सकिन्छ । यद्यपी यी दुई गाडीले कस्तो बजार पाउने छ भन्ने थाहापाउन अझै केही दिन कुर्नु पर्ने हुन्छ ।


Back_to_top