काठमाडौं । सन् २०२० को नाडा अटो शोमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बजारमा ल्याएको सब फोर मिटर एसयूभी भेन्यू नेपाली सडकमा एक हजार यूनिटभन्दा धेरै गुडीरहेको कम्पनीले जनाएको छ ।
मैले हुन्डाई भेन्यूको एसप्लस भेरियन्टलाई १ हजार किलोमिटर गुडाएको छु । आफूले चलाएको १० दिनको अनुभवका आधारमा भन्न सक्छु, ‘भेन्यू पर्फेक्ट सब–कम्प्याट एसयूभी’ हो ।
आरामदायी सिट र ‘स्मुथ गियर सिफ्टीङ’ले भेन्यू चालकलाई नयाँ किसिमको ड्राइभिङ अनुभव प्रदान गर्छ । गाडीको क्याविन स्पेश ५ जनालाई उत्कृष्ट छ । लामो हाइवे यात्रा होस् वा सहरी क्षेत्र सबैतिर भेन्यू चलाउँदा एक किसिमको रोमाञ्चकता पाउन सकिन्छ ।
गाडीको सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर निकै बोल्ड र सुन्दर रहेको छ । डिजिटल सेग्मेन्टमा फ्यूलको अवस्था, गुडेको किलोमिटर, गाडीमा रहेको इन्धनले कति गुड्न सक्छ भन्ने सूचना, ट्रिप मिटर, औषत माइलेज जस्ता चालकको लागि आवश्यक सूचना पाउन सकिन्छ ।
एनालग स्पीडो मिटर र आरपीएम मिटरको बनोटले यसलाई मस्कुलर कार जस्तै देखाएको छ । ड्यासबोर्डमा दिइएको फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टममा एन्ड्रोइड अटो र एप्पल कार प्ले सहजै जोड्न सकिन्छ । एप्पल कार प्लेको सपोर्टले नेभिगेशन, भ्वाइसकमाण्ड, म्यूजिक प्ले लगायतका फिचर सहजै चलाउन मिल्छ ।

आर्मरेष्ट, आर्मरेष्टको साथमा रहेको बक्स, कप होल्डर, कुल्ड बक्स, सेन्टर कन्सोलमा रहेको मोबाइल राख्ने ठाउँ, प्यासेन्जर साइडमा पर्स र मोबाइल जस्ता स–साना सामान राख्ने ठाँउ पाउन सकिन्छ । अगाडि मोबाइल होल्डरसँगै दिइएको चार्जिङ पोर्ट र यूएसबी पोर्ट प्रयोग गर्न निकै सजिलो रहेको छ ।
भेन्यू एसप्लसमा चालकसहित ४ यात्रुको लागि हेडरेष्ट दिइएको छ । तर, पछाडि बीचमा बस्ने प्यासेन्जरले हेडरेष्ट पाउँदैनन् । गाडीको यात्रामा गर्मी या जोडो हुनु स्वभाविक हो । हुन्डाईले भन्यू एसप्लसमा अटोमेटीक एसी दिएको छ ।
साथै, म्यानुयल एसी चलाउन मन पर्नेलाई म्यानुयल्ली संचालन गर्ने सुविधा पनि छ । विन्ड सिल्डमा लाग्ने वाफबाट सहज मुक्ति दिन सक्ने अगाडि र पछाडि नै ‘ब्लो स्वीच’ दिइएको छ । यसले बाफ लागेर हुने हैरानीबाट चालकलाई सहजै बाहिर निकाल्छ । यसमा पछाडि बस्ने यात्रुले पनि एसी आफ्नो आवश्यकता अनुसार चलाउन वा बन्द गर्न सक्छन् ।
सुरक्षाको हिसाबले पनि भेन्यूमा राम्रा फिचर छन् । हुनत ग्लोबल एनक्यापमा यसको परीक्षण भएको छैन । तर, अष्ट्रेलियन एनक्यापले भने ४ स्टार रेटिङ दिएको छ । यसमा ब्रेक एसिस्ट फिचर उपलब्ध रहेको छ । दुई एयरब्याग, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, चाइल्ड लक, अटोमेटीक फोल्ड हुने लुकिङ ग्लास जस्ता फिचर पाउन सकिन्छ ।
इन्जिन र माइलेज
हुन्डाईले भेन्यूमा दिएको नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन मैले चलाएको मोडल हो । यसमा ११९७ सीसी क्षमताको हुन्डाईले बनाएको फोर सिलिण्डर कप्पा इन्जिनको प्रयोग भएको छ । इन्जिन यति ‘स्मुथ’ छ कि क्याबिनमा गाडीको आवज नै थाहा हुन्न । यसलेको उच्च पावर क्षमता ८३ पीएस रहेको छ भने ११४ एनएम टर्क रहेको छ ।
भेन्यूमा हुन्डाईले ४५ लिटर क्षमताको इन्धन ट्याङ्की प्रयोग गरेको छ । काठमाडौं जस्ता ट्राफिक जाम हुने बाटोमा गुडाउँदा यसले १० देखि ११ किलोमिटर औषत माइलेज दिएको थियो । तर, हाइवेमा जाँदा यसले सहजै १४ देखि १५ किलोमिटरको औषत माइलेज दिएको मैले पाएको छु ।
बाहिरी बनोट
भेन्यूको लम्बाइ ४ मिटरभन्दा केही मिलिमिटर मात्रै कम छ । २५०० एमएमको ह्वीलवेस, १९५ एमएमको ग्राउन्ड क्लियरेन्सले खराव बाटोमा पनि भेन्यूलाई सहजै चलाउन सकिन्छ ।

अगाडि दिएको क्रोम फिनिसिङ सहितको ठूलो फ्रन्ट ग्रिलले गाडीलाई आकर्षक बनाएको छ । यद्यपि म आफैँ भने क्रोमको फ्यान होइन । तर क्रोम मनपराउने ग्राहकलाई यसको ग्रिल उत्कृष्ट रहेको छ । हेडल्याम्पसँगै रहेको एलइडी डेटाइम रनिङ लाइट, प्रोजेक्टर हेडल्याम्प, प्रोजेक्टर फगल्याम्प, अटोमेटीक हेडल्याम्प, अटो कर्नरिङ जस्ता फिचर यसमा उपलब्ध रहेकाले चालकलाई निकै सहज लाग्छ ।
साथै, बडी कलरको रुफरेल, सार्कफिन एन्टेना, डायमन्ड कट अलोय ह्वील, १५ इन्चको ट्यूवलेस टायर, एरो डाइनामीक बडी, हाइस्ट्रेन्थ स्टीलको प्रयोग, स्कीड प्लेट जस्ता फिचरले झट्ट बाहिरबाट हेर्दा भेन्यूलाई उत्कृष्ट देखाएको छ ।
मूल्य र मासिक किस्ता
हुन्डाई भेन्यू एसप्लस भेरियन्टको मूल्य ४४ लाख ५६ हजार रुपैयाँ तोकेर कम्पनीले विक्री गर्दै आएको छ । यसमा दशैं स्कीम चलिरहेकाले ग्राहकले १ लाख नगद छुट र २० हजारदेखि १ लाखसम्म स्क्र्याचकार्ड मार्फत छुट पाउन सक्ने छन् ।
गाडीको मूल्यमा १ लाख २० हजारमात्रै छुट भएको अवस्थामा ग्राहकले ४३ लाख ३६ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । अहिले बैंकले ७ वर्षको लागि ८ देखि ९ प्रतिशतमा कर्जा सुविधा उपलब्ध गराउँदै आएका छन् । यस्तोमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट तिरेर मासिक ३४ हजार हाराहारी रकम तिर्नु पर्ने हुन्छ ।

