इलेक्ट्रीक कारमा एमजी र हुन्डाई बीच टक्कर, यस्तो छ सबै कम्पनीको ‘मार्केट सेयर’

काठमाडौं । विद्युतीय कारको आयातमा केही सुधार देखिएको छ । सरकारी सपोर्ट भएपनि गाडी सप्लाईमा देखिएको समस्याको कारण विद्युतीय सवारी साधन आयत बढ्न सकेको छैन ।

सन् २०२१ को आयत तथ्यांकमा एमजी र हुन्डाई बीच प्रतिस्पर्धा देखिएको छ भने नेपाल प्रवेश गरेको दोस्रो महिनामा नै टाटा पाँचौ स्थानमा उक्लेको छ । टाटाले अघिल्लो महिनादेखि नेक्सन इलेक्ट्रीक विक्री सुरु गरेको थियो ।

किया तेस्रो स्थानमा रहँदा चिनियाँ ब्राण्डमा दिगोले पहिलो स्थान हासिल गरेको छ । यी पाँच कम्पनी बाहेक अन्य कम्पनीको आयात संख्यात्मक हिसावले निकै न्यून रहेको छ ।

सन् २०२१ को अप्रिल जुन र जुलाई महिनामा एमजीले क्रमशः ३८, ८ र ५१ यूनिट गाडी आयात गरेको छ । योसँगै सन् २०२१ मा एमजीले ९७ यूनिट इजेडएस नेपाल ल्याएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

दोस्रो स्थानमा रहेको हुन्डाईले पनि अप्रिल, जुन र जुलाईमा गाडी आयात गरेको छ । कम्पनीले अप्रिलमा १ यूनिट मात्रै इलेक्ट्रीक गाडी ल्याएको छ भने जुन र जुलाईमा क्रमशः २९ र ४४ यूनिट इभी नेपाल ल्याएको देखिन्छ ।

सूचीको तेस्रो स्थानमा किया रहेको छ । कियाले जुन महिनामा ४५ यूनिट निरो नेपाल ल्याएको देखिन्छ । कियापछि धेरै गाडी दिगो ग्रुपले ३५ यूनिट ल्याएको छ । दिगोले सबै गाडी फेब्रुअरीमा नेपाल ल्याएको हो ।

जुआन ब्राण्डले १४ यूनिट, महिन्द्राले १४ यूनिट, निसानले १० यूनिट, टेस्लाले १० यूनिट, हुवाईले ६, बीवाइडी ६, गाला ४ र डेरीले ४ यूनिट गाडी आयात गरेका छन् ।

समग्रमा सन् २०२१ जनवरीदेखि सेप्टेम्बर १५ तारिखसम्म ३५२ यूनिट विद्युतीय गाडी आयात भएको देखिन्छ ।


Back_to_top