काठमाडाैं । अमेरिकी अटो जायन्फोट फोर्डले इलेक्ट्रिक भेहिकलमा ठूलो लगानी गर्ने घोषणा गरेको छ । फोर्डले अमेरिकामा इलेक्ट्रिक भेहिकल उत्पादन गर्न ११ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको हो ।
कम्पनीले अमेरिकाको केन्टुकी राज्यमा दुई वटा ब्याट्री पार्क र टेन्निसीमा अहिलेसम्मकै ठूलो प्लान्ट बनाउने फोर्डले जनाएको छ । उक्त लगानी योजनाअनुसार कम्पनीले जिरो इमिसन कार र पिकअपहरु उत्पादन गर्नेछ । नयाँ प्लान्ट स्थापनासँगै ११ हजार थप रोजगारी समेत सिर्जना हुने बताइएको छ ।
अमेरिकी अटो कम्पनी जीएम र स्टेलान्टिसजस्तै फोर्डले पनि सन् २०३० मा आफूले बेच्ने आधाजसो कारहरु जिरो इमिसन हुने लक्ष्य राखेको छ । यद्यपि,यसका लागि सरकारले समेत यस्तै खाले थप लगानी गर्नुपर्ने हुन्छ । ‘अमेरिकाका लागि राम्रो भविष्य निर्माण गर्ने यो हाम्रो ठूलो क्षण हो, ठूलो लगानी हो,’ फोर्डका अध्यक्ष तथा प्रमुख कार्यकारी जिम फार्लेले भने ।
कम्पनीले थोरै संख्याभन्दा पनि धेरै इलेक्ट्रिक भेहिकलमा ब्रेकथ्रु दिने गरी अघि बढेको दाबी गरेको छ । फोर्डका अनुसार टेन्निसीको कारखाना ब्लु ओभल सिटी छ वर्गमाइल क्षेत्रमा हुनेछ भने यहाँ नेक्ट जेनरेशनका इलेक्ट्रिक पिकअप ट्रक र ब्याट्रीहरु सन् २०२५ बाट उत्पादन हुनेछन् । केन्टुकीको ब्याट्री पार्कले नयाँ लाइनका फोर्ड र लिंकन ईभीलाई ब्याट्री दिनेछ ।
यसअघि नै फोर्डले ईभी उत्पादन गर्न टेक्सस र मिचिगन प्लान्टमा लगानी गरिसकेको छ । कम्पनीले चाँडै नै दक्षिण कोरियाली ब्याट्री उत्पादक एसके इन्नोभेसनसँगको साझेदारीमा नयाँ लगानी गर्नेछ ।


