काठमाडौं । सारडा ग्रुप अन्तर्गतको एससीभी अटोमोवाइलले चेरी ब्राण्डका कार तिहार अघि नै नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले काठमाडौंको थापाथलीमा शोरुम निर्माणको काम अन्तिम चरण पुर्याएको छ भने, नयाँ गाडी लञ्च गर्ने तयारीमा जुटेको हो ।
‘चेरीका कार अक्टोबरमा नेपाल आउने छन् । अहिले शोरुम निर्माण अन्तिम तिर पुगेको छ भने शोसल मिडियामा प्रमोशनल गतिविधि बढेको छ । तिहार अघि नै गाडी विक्री सुरु गर्ने लक्ष्य बनाएका छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनी स्रोतका अनुसार सुरुवातमा नै तीन मोडलका एसयूभी नेपाली बजारमा आउने छ । त्यसमध्ये एक मोडल नेपाल आउनै लागेको छ भने, दुई मोडल नेपालको लागि हिड्ने तयारीमा छ ।
अहिले काठमाडौंको थापाथलीमा पहिलो शोरुम बन्दैछ । नयाँ शोरुम निर्माणको काम तिब्रगतीमा अघि बढेको देख्न सकिन्छ । दशैंअघि नै शोरुम निर्माण सकेर दशैंपछि शोरुम संचालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

पुराना चेरी गाडी चढ्नेपनि सर्भिस सुविधा पाउने
चेरी नेपालको लागि नयाँ ब्राण्ड होइन । सन् २००३ देखि नै चेरीका गाडी नेपालमा उपलब्ध रहेको थियो । तर, सन् २०१२ पछि भने यो गाडी नेपाल आयात बन्द भएको हो ।

नयाँ डिलर नियुक्त भएसँगै एससीभी अटोमोवाइलले पुराना गाडी कति छन् भन्ने विषयमा अध्ययन गरिरहेको र ती गाडीलाई आफुहरुले सर्भिस सेवा उपलब्ध गराउने विषयमा छलफल भइरहेको जनाएको छ ।


