भारतीय बजारमा यो वर्षको जुन महिनामा प्यासेन्जर भेइकलको बिक्री ३७.५४ प्रतिशतले बढेर २ लाख ७३ हजार ७ सय ५९ वटा बिक्री भएको छ । गत वर्षको सोही अवधिमा भारतीय बजारमा १ लाख ९९ हजार ३६ वटा प्यासेन्जर सवारी बिक्री भएको थियो ।
सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्षको जुनमा कार सेगमेन्टको बिक्री ३४.२१ प्रतिशतले बढेर १ लाख ८३ हजार ८ सय ८५ वटा पुगेको छ । २०१७ को जुनमा १ लाख ३७ हजार १२ वटा कार बिक्री भएको थियो ।
त्यस्तै मोटरसाइकलको बिक्री जुम महिनामा २४.३२ प्रतिशतले बढेर ११ लाख ९९ हजार ३ सय ३२ वटा बिक्री भएको छ । २०१७ को जुनमा भारतमा ९ लाख ६४ हजार ७ सय २९ वटा मोटरसाइकल बिक्री भएको थियो ।
समग्र दुई पांग्रे सवारीको बिक्री भने २२.२८ प्रतिशतले बढेर १८ लाख ६७ हजार ८ सय ८४ वटा पुगेको छ । गत वर्षको जुनमा भारतीय बजारमा १५ लाख २७ हजार ५ सय ९ वटा दुईपांग्रे सवारी बिक्री भएको थियो ।
कमर्सियल सवारीको बिक्री सेगमेन्ट अनुसार सबैभन्दा धेरै रहेको छ । यो वर्षको जुनमा भारतमा कमर्सियल सवारीको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१.७२ प्रतिशतले बढेको छ ।
त्यस्तै समग्र सवारीको बिक्री २०१७ को जुनको तुलनामा २०१ को जुनमा २५.२३ प्रतिशतले बढेर २२ लाख ७९ हजार १ सय ५१ पुगेको छ । गत वर्षको जुनमा भारतमा सबै खाले सवारी गरेर १८ लाख १९ हजार ९ सय २६ वटा बिक्री भएको सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले जनाएको छ ।


