यी कुरामा ध्यान नदिए बीच बाटोमा बाइकले दिनसक्छ दुःख

काठमाडौं । आफ्नो दैनिकीलाई सहज बनाउँदै हामीलाई यात्रामा सहयोग गर्ने मोटरसाइकलको सर्भिसिङ गर्दा के के गरिन्छ भन्ने कुरा थाहा भएको पाईदैन । सर्भिसिङ भइसकेपछि पार्टपूर्जा सफा भए नभएको रआवश्यक सेवा मिले–नमिलेकोबारे पनि कमैले चासो लिने गरेको पाईदैन । 

मोटरसाइकल सर्भिसिङ गर्न छाडिदिने चलन छ र भनेको समयमा आएर लिएर जाने गरिन्छ । के बन्यो वा बिग्रीएको छ कसैले वास्ता गर्दैन । मानिसको शरीर जस्तै मोटरसाइकललाई पनि समय समयमा जाँच्नु पर्ने र पार्टपूर्जा सफा गर्नुपर्ने हुन्छ तर कतिपयले त समयमै सर्भिसिङ नगर्ने र ठूलो समस्या आइसकेपछि मात्र सर्भिसिङमा लाने गरेका छन् । कतिले त खर्च हुने लोभले समयमै मोटरसाइकल सर्भिसिङ समेत गर्ने गरेका छैनन् । 

मोटरसाइकलको समयमा नै सर्भिसिङ गरेमा टिकाउपन क्षमता र माइलेज बढ्ने गर्छ । नयाँ किन्दा पनि कम्पनीहरुले निश्चित अवधि वा गतिको मापनपछि सर्भिसिङ गर्न सुझाव दिने गर्दछन् ।

समयमै सर्भिसिङ गराउने मात्रै नभई सर्भिसिङपछि मोटरसाइकललाई आफूले पनि परीक्षण गर्नुपर्नेमा मेकानिकहरु जोड दिन्छन् । मोटरसाइकल सर्भिसिङ गर्दा यी निम्न कुरामा ध्यान दिनु पर्छ । 

मोबिल चेक गर्ने

सर्भिसिङ गर्दा सबैभन्दा ध्यान दिनुपर्ने कुरा मोबिल हो। मोबिल कम भयो भने इन्जिनमा धेरै असर पर्ने गर्छ ।  ‘साधारणतया मोटरसाइकल १२ सयदेखि १ ५ सय किलोमिटर गुडेपछि मोबिल फेरिसक्नु पर्छ । तर २ हजार किलोमिटर माथी नपुगी धेरै जसोले सर्भिसिङ गर्ने गरेका छैनन् । 

कार्बोरेटरमा ध्यान दिने

कार्बोरेटरले इन्जिनलाई जरुरत अनुसार हावा र इन्धन पुर्याउने काम गर्छ । हावा र इन्धनलाई समूचित रुपमा मिश्रित गर्ने डिभाइस नै कार्बोरेटर हो । मोटरसाइकल कुद्नका लागि यसले इन्जिनलाई शक्ति प्रदान गर्छ । 

उच्च गतिमा बाइक कुदाउँदा कार्बोरेटर बढी मात्रामा सक्रिय रहन्छ । कहिलेकाँही खासगरी चिसोमा मोटरसाइकल राम्ररी स्टार्ट हुन नसकेको अवस्थामा हामी कार्बोरेटरमाथि जोडिएको ‘चोक’ तानेर स्टार्ट गर्छौँ ।

जब ‘चोक’ तान्छौँ त्यसपछि कार्बोरेटरले बढी शक्ति उत्सर्जन गरी स्टार्ट हुनका लागि मद्दत पुग्छ । उपयुक्त तवरले कार्बोरेटरले काम गरे नगरेको मोटरसाइकलको आवाजबाट पनि पत्ता लगाउन सकिन्छ । 

एयर फिल्टर सफा गर्ने

एयर फिल्टरले धुलो इन्जिनमा पस्नबाट रोक्ने हुनाले सर्भिसिङ गर्दा यसमा पनि ध्यान दिनु जरुरी हुन्छ । एयर फिल्टर सफा नहुने हो भने धुलो इन्जिनमा गई असर पर्ने र अन्य प्राविधिक समस्या निम्तिन सक्ने छ । 

ब्रेक र ब्रेक आयल चेक गर्ने

ब्रेक सवारीसाधनको अत्यन्तै जटिल पुर्जा हो । यसमा चालकले निकै ध्यान दिनु जरुरी छ । समस्या नआएपनि प्रत्येक पटक सर्भिसिङ गर्दा ब्रेकमा ध्यान दिनुपर्ने जानकारहरु बताउँछन् । त्यस्तै डिक्स ब्रेकभएका मोटरसाइकल छ भने, ब्रेकआयल पनि चेक गर्नु जरुरी छ । 

फ्यूल पाइप चेक गर्ने

फ्युल पाइप अर्थात फ्युल लाइन पनि सर्भिसिङका क्रममा चेक गरिन्छ। फ्यूल लाइनमा अवरोध आएमा इन्धन चुहिने, इन्धन सर्कुलरमा अवरोध आई, स्टार्ट नहुने वा बीचबीचमा बन्द हुने जस्ता समस्याहरु देखा पर्छ। यदी फ्यूल पाइप जाम भएको वा प्वाल परेको भए नयाँ नै फेर्नुपर्छ। 

यीबाहेक टायरको एयर प्रेसर चेक, ब्याट्रीको समय–समय चेक, ट्याङ्की, लाईट, चेन,  हर्नजस्ता पार्टसको चेक जाँच गर्नु पर्छ।


Back_to_top