सडक लेन मिचेर भाग्नु भयो ? अब घरमै आउँछ खबर !

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले सडकमा निगरानी गर्न सादा पोशाकमा ट्राफिक प्रहरीहरुलाई खटाएको छ । यसरी खटिएका प्रहरीले सडकलेन लगायतका ट्राफिक नियम पालना भए वा नभएको निरिक्षण गर्ने छन् ।

यसरी निरिक्षणको क्रममा तपाइले ट्राफिकलाई छले भनेर दङ्ग पर्नुभएको छ भने त्यो गलत हुन सक्छ । अब सडकमा लेन मिचेर भग्नेलाई घरमै फोन गरेर पुनः कानुनी दायमा ल्याउने ब्यवस्था ट्राफिक प्रहरीले मिलाएको छ । त्यसको लागि सादा पोसाकमा खटाइएका ट्राफिक प्रहरी र विभिन्न स्थानमा जडित सीसी क्यामेराको सहायता लिने ट्राफिक प्रहरीले जनाएको छ । क्यामेराले खिचेका फुटेजका आधारमा ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँग  सवारी धनीको पूरा विवरण मागेर घरमा नै फोन गर्नेछ ।

यसरी तीन पटकसम्म बोलाउदा पनि सवारी धनी उपस्थित नभए सवारीसहित चालकलाई नियन्त्रणमा लिइ लेन मिचेको सवारीको फुटेज देखाएर कारवाही गर्ने छ । 

हाल महाशाखासँग रहेका दुईवटा ‘सभिलेन्स भेइकल’लाई महाशाखाले आवश्यक स्थान छनोट गरेर राख्ने गरेको छ । रानीपोखरीमा रहेको सीसीटिभी मोनिटरिङ रुम र ट्राफिक महाशाखाको मोनिटरिङ रुमले समेत सडकको अवस्थाको मोनिटरिङ गरिरहेको छ ।

सीसीटिभी अभियान माघ अन्तिम साताबाट सञ्चालन गरिएको  थियो, त्यसबाट अहिलेसम्म ६३४ जना सवारी चालकलाई कारबाही गरिएको छ भने, २५९ जना कारबाहीको प्रक्रियामा छन् । अझै ८५३ सवारीको अभिलेख ट्राफिक प्रहरीले खोजिरहेको छ । 


Back_to_top