काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै नयाँ-नयाँ मोडल बजारमा आउने तयारीमा छन् । बजारमा आउने क्रममा रहेका नयाँ मोडल मध्ये टाटा पन्च र हुन्डाई आयोनिक ५ निकै प्रतिक्षित मोडल हुन् ।

हुन्डाईले नेपाल ल्याउने आयोनिक ५ दक्षिण कोरियाबाट नेपालको लागि हिडिसकेको छ भने, टाटाले पन्च सार्वजनिक गर्ने तयारीलाई तिब्रता दिएको छ । यी दुबै गाडी जनवरी (अर्को महिना)बाट विक्री सुरु हुनेछ ।
यी दुबै गाडीको आ-आफ्नै विशेषता रहेका छन् । टाटा पन्च माइक्रो एसयूभी सेग्मेन्टमा विक्री हुने फिचर लोडेड कार हो । दुई महिना अघिबाट भारतमा विक्री भइरहेको पन्च निकै सफल भइरहेको छ ।
हुन्डाई आयोनिक ५ विश्व बजारमा सर्वाधिक चर्चा पाइरहेको मोडल हो । क्लासिक डिजाइनमा निकै प्रिमियम फिचरको साथ आएको आयोनिक ५ ले जर्मनी, अमेरिका र यूरोपका थुप्रै देशमा अवार्ड जित्न सफल भइसकेको छ ।

टाटा पन्च माइक्रो साइजसँगै उत्कृष्ट मूल्यमा उपलब्ध हुने अनुमान गरिएको छ । कम्पनीले पन्चमा नेक्सन र अल्ट्रोजबाट धेरै फिचर सेयर गरेको कारण यसमा दिइएका फिचर उत्कृष्ट रहेका छन् । करिब २८ देखि ४२ लाखसम्मको मूल्यमा नेपाल आउने अपेक्षा गरिएको पन्चले रेनो काइगर, निसान म्याग्नाइट जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
हुन्डाई आयोनिक ५ नेपालले माग अनुसार पाउने अवस्था देखिदैन । सुरुको दुई लट आउन लागेको आयोनिक ५ लगभग बुकिङ भइसकेको कम्पनी स्रोतले जनाएको छ । यसको मूल्य अहिले नै एकिन नभएपनि लगभग ८५ लाख भित्रै आउने अनुमान भने गर्न सकिन्छ ।
टाटा पन्चमा १.२ लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध छ भने, नेपाल आउने आयोनिक ५ मा ५८ किलोवाट आवर क्षमताको व्याट्री प्याक रहने छ । यी दुबै गाडी अंग्रेजी नयाँ वर्षको सुरुवातमा नेपालमा हुने ‘विग लञ्च’ हुन् ।


