काठमाडौं । पछिल्लो ५ वर्षमा भएका ३१ हजार २६७ सवारी दुर्घटनामध्ये ९८१ दुर्घटनामा मानिसको मृत्यु भएको छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार देशभर भएका दुर्घटनामा सर्वाधिक धेरै मानिसको मृत्यु मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाट भएको हो ।
आर्थिक वर्ष २०७३/७४ देखिको तथ्यांक हेर्दा हरेक वर्ष धेरै मानिसको मृत्यु दुई पाङ्ग्रे सवारी साधनको कारण भएको छ । सबैभन्दा कम मानिसको मृत्युको कारण भने टेम्पो दुर्घटना भएको देखिन्छ । ५ पटक भएको टेम्पो दुर्घटनामा मानिसको मृत्यु भएको छ भने साइकलको कारण ६ पटक मृत्यु भएको छ ।

मोटरसाइकल तथा स्कुटरको कारण दुर्घटन ३४९ घटनामा मानिसको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकलको कारण मानिसको मृत्यु नै भएका घटना आर्थिक वर्ष २०७३/७४ मा ४१, २०७४/७५ मा ६८, २०७५/७६ मा ९९, २०७६/७७ मा ५४, २०७७/७८मा ६३ र चालु आर्थिक वर्षको ५ महिनामा २४ वटा रहेका छन् । यसले दुई पाङ्ग्रे सवारी साधन कति जोखिमपूर्ण छन् भन्ने देखाएको छ ।
मोटरसाइकलपछि धेरै मृत्युको कारण बनेको बस हो । यस अवधिमा १४४ वटा दुर्घटना बसको भएको छ । त्यसैगरी बसपछि ट्रक र ट्रिपरको कारण मानिसको ज्यान गएको छ । ट्रकको १३४ दुर्घटनामा मानिसको मृत्यु भएको छ भने ट्रिपरले मानिसको ज्यान जानेगरी १०८ दुर्घटना गराएको छ ।
त्यसैगरी जीपरभ्यानको ९४ पटक भएको दुर्घटनामा मानिसको मृत्यु भएको छ । त्यसपछि धेरै दुर्घटनामा परेर मानिसको मृत्यु गराउने साधन पिकअप हो । ५ वर्षको अवधिमा पिकअपको कारण ४३ दुर्घटनामा मानिसले ज्यान गुमाएका छन् ।
यस अवधिमा ट्याङ्कर दुर्घटना २८, माइक्रो बस दुर्घटना २१, कन्टेनर दुर्घटना १५, ट्याक्टर दुर्घटना १३, हेभी इक्यूपमेन्ट दुर्घटना ९ र नाम नखुलेका साधन दुर्घटनामा १९ मासिनले ज्यान गुमाएका छन् ।


