काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंकिङ क्षेत्रले व्यवसायी प्रयोजनका सवारीसाधनमा गरेको लगानी एक खर्ब ६ अर्ब १२ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
पछिल्ला दिनमा व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने सवारीसाधनभन्दा व्यावसायिक प्रयोजनका सवारीसाधनमा बैंकहरूको लगानी तीन वर्षमा झन्डै दोब्बरले बढेको छ ।
सन् २०१६ को जुलाई महिनासम्म करिब ६४ अर्ब ४९ करोड ३९ लाख लगानी गरेका बैंकहरूले २०१७ को जुलाईमा करिब २५ अर्बले लगानी बढाएर ८९ अर्ब ४८ करोड ६२ लाख पुर्याएका थिए । चालु आर्थिक वर्षको ११ महिनासम्म आइपुग्दा यस्तो लगानी १०६ अर्ब १२ करोड ६३लाख पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा कमर्शियल गाडीमा जाने कर्जामा ४० प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी, सन २०१६ को जुलाईसम्मा व्यक्तिगत प्रयोजनका लागि आउने सवारीसाधनमा ४५ अर्ब ५९ करोड २१ लख रुपैयाँ लगानी गरेका बैंकहरूले २०१७ को सोही अवधिसम्मा ५९ अर्ब ८४ करोड ५० लाख लगानी गरेका थिए ।
विगतको तुलनामा निजी सवारीसाधनमा बैंकहरूको लगानी खासै बढ्न सकेको छैन । चालु आर्थिक वर्षको ११ महिनामा ६२ अर्ब २५ करोड ५० लाख रुपैयाँ लगानी भएको छ ।
हालसम्म हायरपर्चेज कर्जाको शीर्षकमा बैंकहरूले एक खर्ब ६८ अर्ब ३८ करोड १३ लाख रुपैयाँ लगानी गरेका छन् । यसका अलावा सहकारीको माध्यमबाट गएको हायरपर्चेज कर्जाको हिस्सा निकै ठूलो रहेको छ ।

