जाम नेपाल र नाडाबीच अन्तर्क्रिया सम्पन्न

काठमाडौं । अटो पत्रकारहरुको संस्था जाम नेपाल र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल बीच अन्तर्क्रिया सम्पन्न भएको छ । जाम नेपालले नवर्निवचित नाडाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सम्मान तथा अटोमोवाइल र बैंक क्षेत्रको अन्तरसम्बन्ध विषयमा कार्ययक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा केन्द्रीय बैंकको नीतिको कारण अटोमोबाइल्स क्षेत्रले हरेक समय समस्या भोग्नु परेको विषयलाई व्यवसायीहरुले राखेका थिए ।

नाडाका अध्यक्ष ध्रुव थापाले सरकारले व्यवसायीलाई अफ्ठ्यारो पार्नेगरी नीति निर्माण भएपनि त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने विषयमा सरकारले नसोचेको बताएका थिए ।

‘अटोमोबाइल्स क्षेत्र आवश्यकताको क्षेत्र हो । तर, सरकारले यसलाई सधै विलासी बस्तुको रुपमा लिएर नीति निर्माण गर्दा उपभोक्ता नै मारमा परेका छन् । यस विषयमा हामी छिट्टै अर्थमन्त्रीदेखि गभर्नरसम्मलाई भेट्ने तयारीमा छौं’, अध्यक्ष थापाले भने ।

नाडाका महासचिव सुरेन्द्र उप्रेतीले नीतिगत स्थीरतामा मात्रै व्यवसाय अगाडि बढ्ने भन्दै नीति निर्माताले यस विषयमा सोच्नु पर्ने धारणा राखे ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बैंकिङको कारण सामान आयात गर्न नसकिने अवस्था आएको भन्दै सरकारले त्यसमा पुनरविचार गर्नु पर्ने धारणा राखेका थिए ।

‘एलसी मार्जिनको मार व्यवसायीमा मात्रै होइन, उपभोक्तामा पनि पर्छ । अत्यावश्यक बस्तुलाई कसरी सहज बनाउने भन्ने विषयमा राज्यका निकायले ध्यान दिनु पर्छ’, श्रेष्ठले भने ।

त्यस्तै नाडाका अर्का उपाध्यक्ष सुनिल रिजालले ब्रेकप्याड र ब्रेकसु जस्ता अत्यावश्यक बस्तुको एलसी खोल्नै नसकिने अवस्था आएको बताए ।

कार्यक्रममा नाडाका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्दै जाम नेपालका अध्यक्ष उज्वलजंग शाहले नाडा र जाम मिलेर नागरिकलाई सुचना प्रबाह, सडक सुरक्षा र बढ्दो ट्राफिक जाम कम गर्न सहयोगी भूमिका निर्वाह गर्नु पर्ने धारणा राखेका थिए ।

कायक्रमको संचालन गर्दै जाम नेपालका सहासचिव सागर गजुरेलले बनेका नीति व्यवसायीमैत्री छन् वा छैनन् भन्दा पनि नागरिकलाई त्यसको कस्तो असर पर्छ भन्नेतर्फ सोच्न नीति निर्माता र व्यवसायीलाई आग्रह गरेका थिए ।


Back_to_top