काठमाडौं । चिनियाँ मोटरसाइकल कम्पनी सिएफ मोटोले नयाँ ‘२५० सिएल-एक्स’ मोटरसाइकल चीनमा सार्वजनिक गरेको छ । कम्पनीले रेट्रो लुक्समा ल्याएको नयाँ मोटरसाइकल कम्पनीको ‘७०० सिएल-एक्स’बाट प्रेरित रहेको छ ।
सिएफ मोटो २५० एनकेको प्लेटफर्ममा तयार भएको नयाँ मोटरसाइकल निकै आक्रमक डिजाइनमा देखिएको छ । गोलो हेडल्याम्पमा एक्स आकारको एलइडी डेटाइम रनिङ लाइट, स्टेपमा विभाजन गरिएको सिट, २५० सीसी क्षमताको इन्जिन ‘२५० सिएल-एक्स’को मुख्य आकर्षण हो ।
यसमा दिइएको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिनले अधिकतम २८ हर्सपावर र २२ न्यूटन मिटर टर्क प्रदान गर्छ । कम्पनीले यसको अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन दिएको छ ।
सम्पूर्ण लाइट एलइडी प्रयोग भएको यो मोटरसाइकलमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, दुबै चक्कामा डिस्क ब्रेक, डबल च्यानल एबीएस जस्ता फिचर दिइएको छ । नेपाली बजारमा अहिले सिएफ मोटोले १५० देखि ६५० सीसीसम्मका मोटरसाइकल विक्री वितरण गर्दै आएको छ ।

