ओलाको पहिलो इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक

काठमाडौं । इलेक्ट्रीक सवारीसाधन उत्पादनमा हातहालेको ओलाले आफ्नो पहिलो इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीका सीईओ भाविश अग्रवालले कारको कन्सेप्ट सार्वजनिक गरेका हुन् ।

अग्रवालले कारको कन्सेप्ट सार्वजनिक गरेपनि यसमा रहने फिचर र टेक्नीकल पार्टको विषयमा कुनै जानकारी दिएका छैनन् । भारत लगायतका थुप्रै देशमा अनलाईन ट्याक्सी सेवा प्रदान गर्दै आएको ओलाले विश्वकै ठूलो इलेक्ट्रीक सवारी उत्पादक बन्ने लक्ष्यसहित अहिले लगानी गरिरहेको छ । कम्पनीले आफ्नो पहिलो उत्पादनको रुपमा एस-१ र एस-१ प्रो स्कुटर विक्री सुरु गरिसकेको छ ।

भारतको तामिलनाडु राज्यमा प्लान्ट स्थापना गरेर ओलाले विद्युतीय सवारी साधन उत्पादनलाई तिब्रता दिएको हो । कम्पनीले बजारमा कार ल्याउने बेलासम्म करिब ५ बिलियन अमेरिकी डलर लगानी हुने जनाएको छ ।

ओलाले आफ्नो पहिलो कार सन् २०२३ भित्रै बजारमा ल्याउने अनुमान गरिएको छ । तर, कम्पनीले कार उत्पादनको काम कहाँ पुगेको छ भन्ने विषयमा भने केही जानकारी दिएको छैन । अहिलेसम्म कम्पनीका सीईओले सार्वजनिक गरेको कन्सेप्ट कारको तस्बिर नै मुख्य आधार हो ।


Back_to_top