काठमाडौं । चार मिटरभन्दा छोटो एसयूभी अहिले बजारमा चल्तीका मोडल हुन् । विशेषगरी भारतीय बजारमा चार मिटरभन्दा छोटा एसयूभीको उत्पादनमा सरकारले केही सहुलियत दिने भएको कारण भारतमा उत्पादन गर्ने प्रायः सबै ब्राण्डले यस्ता एसयूभी उत्पादन गर्छन् ।
भारतीय बजारमा नेक्सन इभीको सफलताले धेरै कम्पनीलाई सब फोर मिटर सेग्मेन्टमा लाग्न प्रेरित गरिरहेको छ । नेक्सन इभी रेन्जका हिसावले ठिकठाक तथा डिजाइन र फिचरका हिसावले कम्बस्चन इन्जिन जस्तै रहेको कारण धेरै मानिसले यसलाई मन पराएका छन् ।
भारतमा कम्बस्चन इन्जिन युक्त नेक्सनको तुलनामा इलेक्ट्रीक मोडल झण्डै ५ लाखरुपैयाँले महंगो रहेको छ । यसका बाबजुद भारतमा नेक्सन महिनामा २ हजार यूनिट हाराहारीमा विक्न सुरु गरेको छ ।
टाटा नेक्सन इभीको सफलतालाई नजिकबाट नियाल्दै आएका हुन्डाई, मारुती सुजुकी, किया, एमजी, निसान, रेनो, महिन्द्रा जस्ता ब्राण्डले पनि सब फोर मिटर सेग्मेन्टमा नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने तयारी थालेका छन् ।

भारतीय बजारमा निसान र रेनोको सब फोर मिटर इलेक्ट्रीक एसयूभीको तयारी बारे निसान मोटर्सका सीओओ अश्विन गुप्ताले भने, ‘भारतमा नै व्याट्री उत्पादन र अधिकांश पार्टस् उत्पादन गर्ने तयारी भइरहेको छ ।’

हुन्डाई र कियाले पनि चाँडै आफ्ना भेन्यू र सोनेटलाई इलेक्ट्रीकमा ल्याउने तयारी गरिरहेका छन् । यसको आधिकारीक पुष्टि कम्पनीले नगरेपनि विभिन्न मिडिया रिपोर्टले यस संकेत गरेका छन् ।

मारुती सुजुकी र टोयोटाले पनि भारतमा आफ्नो पहिलो इलेक्ट्रीक कार सब फोर मिटर सेग्मेन्टमा नै ल्याउने भएका छन् । यी दुबै कम्पनीले उत्पादन गर्ने पहिलो इलेक्ट्रीक एसयूभीको कोड नेम ‘वाइवाई-८’ राखेर काम गरिरहेको छ ।

मोरिस ग्यारेज (एमजी)ले पनि भारतको लागि जेडएस इभीभन्दा कम मूल्य र छोटो साइजको एसयूभी अर्को वर्षबाट विक्रीमा ल्याउने जनाएको छ ।

महिन्द्राले यही वर्ष दुई एसयूभी बजारमा ल्याउने छ । कम्पनीले ल्याउने माइक्रो एसयूभी केयूभी १०० मार्चमा बजारमा आउने छ भने, यही वर्षको अन्तिमसम्ममा एक्सयूभी ३०० को इलेक्ट्रीक भर्सन पनि बजारमा आउने छ । एसयूभी ३०० भने ४०० किलोमिटर हाराहारी रेन्जमा उपलब्ध हुने जनाइएको छ ।


