काठमाडौं । सन् २०२२ लागेसँगै विभिन्न कम्पनीले नयाँ कार ल्याउने तयारी गरिरहेका छन् । विशेष गरेर नेपाली बजारमा दुई महिना भित्रै ३ नयाँ मोडलका इलेक्ट्रीक कार विक्री सुरु हुने भएको हो ।
विद्युतीय गाडीको माग बढेसँगै हुन्डाई, टाटा र कियाले नयाँ कार विक्री सुरु गर्न लागेका हुन् । हुन्डाईले आफ्नो नयाँ इलेक्ट्रीक क्रसओभर आयोनीक ५ र टाटाले टिगोर इभी अबको केही दिन भित्रै विक्री सुरु गर्ने छन् भने कियाले मार्चमा इभी ६ मोडलको विक्री सुरु गर्ने जनाएको छ ।
बजारमा आउने यी ३ कार मध्ये सबैभन्दा कम मूल्यमा टाटा टिगोर इभी उपलब्ध हुने छ भने सबैभन्दा महंगो मोडल किया इभी ६ हुने छ । टाटाले ल्याउने टिगोर इभीको अनुमानित मूल्य ३० लाख, हुन्डाई आयोनीकको ८७ लाख र इभी ६ को १ करोड १० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।

टिगोर इभीमा २६ किलोवाट आवरको व्याट्री दिइएको छ । टाटाको जीपट्रोन टेक्नोलोजीमा तयार भएको टिगोर इभीलाई एक पटकको फुल चार्जमा ३०६ किलोमिटर गुडाउन सकिने एआरएआईले प्रमाणित गरेको भएपनि यसले सडकमा २१० किलोमिटर हाराहारी रेन्ज दिने अनुमान गर्न सकिन्छ । टाटा टिगोर ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । यसमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । सिप्रदी ट्रेडिङ फेब्रुअरी अन्तिमसम्ममा यसलाई बजारमा ल्याउने छ ।
हुन्डाई आयोनीक ५ विश्वभर निकै चर्चा कमाउन सफल क्रसओभर हो । निकै आकर्षक डिजाइनमा तयार भएको आयोनीक ५ नेपाल आइसकेको छ । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले यसलाई अवको केही दिन भित्रै विक्री सुरु गर्ने छ ।

नेपाल आएको आयोनीक ५ मा ५८ किलोवाट आवर क्षमताको व्याट्री प्याक उपलब्ध छ भने यसलाई एक पटकको फुलचार्जमा ३९० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । आयोनीक(५ लाई हुन्डाईले ८०० भोल्ट
इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो । यो आर्किटेक्चरमा बनेको कारण यसले उच्च क्षमताको चार्जर सपोर्ट गर्छ । यसलाई ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ । यसमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

कियाको आधिकारीक वितरक कन्टीनेन्टल ट्रेडिङले इभी(६ को जिटी लाइन भेरियन्ट नेपाल ल्याउने भएको छ । कम्पनीले नेपाल ल्याउने इभी ६ को जिटी लाइन भेरियन्टमा ७७.४ किलोवाट आवरको व्याट्री दिएको छ । यसले एक पटकको फुल चार्जमा ५०५ किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
निकै पावर फुल २३९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको यो कारलाई ३५० किलोवाट क्षमताको चार्जरले १० देखि ८० प्रतिशत चार्ज गर्न केबल १८ मिनेट मात्रै लगाउने छ । यसमा १६२ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

