फास्ट चार्जिङ स्टेशन निर्माण तिब्र, ३२ स्थानमा ५१ वटा चार्जर राखिदै (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने घोषणा गरेको ५०० चार्जिङ स्टेशन मध्ये पहिलो चरणमा ३२ स्थानमा चार्जिङ सिस्टम जडान हुने भएको छ । प्राधिकरणले त्यसको लागि ठेक्का समेत लगाइसकेको छ ।

‘हामीले चार्जिङ स्टेशनको काम अन्तिमतिर पुर्याइसकेका छौं । प्रक्रिया पुरा भएर निर्माणको काम सुरु भइसकेको हुनाले ४ महिना भित्र सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ’, प्राधिकरणको भेहिकल चार्जिङ इन्फाष्टक्चर डेभलपमेन्ट प्रोजेक्टका प्रोजेक्ट मेनेजर सागरमणी ज्ञावालीले भने ।

प्राधिकरणले छनोट गरेका स्थानमा चार्जिङ स्टेशन निर्माणको काम चीनको वाङबाङ डिजिटल इनर्जीले पाएको छ । वाङबाङ डिजिटल इनर्जीको नेपाल प्रतिनिधिको रुपमा दिगो ग्रुपले काम गर्दै आएको छ । दिगो ग्रुपको अनुसार चार्जर आयातको प्रक्रिया पनि सुरु भइसकेको छ ।
प्राधिकरणले निर्माण गर्न लागेको चार्जिङ स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस २.० गन भएको डिसी फास्ट र २२ किलोवाट क्षमताको एसी चार्जर रहने छ । साथै, जिबी/टी चार्जर पनि ६० किलोवाट क्षमताको डिसी र २२ किलोवाट क्षमताको एसी चार्चर रहने छ ।

प्राधिकरणले कुनै पनि देशमा बनेका र अलग अलग चार्जिङ गन प्रयोग हुने गाडीले पनि सजिलै सेवा लिन सकुन् भनेर चार्जिङ स्टेशन निर्माण गर्न लागेको हो । सुरुमा देशको ३२ स्थानमा ५१ वटा चार्जर जडान हुनेछन् ।

यी हुन् चार्जिङ स्टेशन निर्माण हुने ३२ स्थान

प्राधिकरणले निर्माण गर्ने चर्जिङ स्टेशन काठमाडौंको नयाँ बसपार्क, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल, नेपाल विद्युत प्रधिकरण केन्द्रिय कार्यालय र साझा सेवा बल्खुमा बन्ने छ ।

त्यसैगरी काभ्रेको बनेपा, कन्चपुरको महेन्द्रनगर बसपार्क, प्राधिकरणको कार्यालय अत्तेरीया कैलाली, लम्की बसपार्क कैलाली, कोहलपुर स्मार्ट रिफ्रेश सेन्टर र बाँके बस पार्क छनोट भएर काम अगाडि बढेको छ ।

सुर्खेत बसपार्क, लमही रिफ्रेश सेन्टर दाङ, लमही बसपार्क दाङ, चन्द्रौटा रिफ्रेश सेन्टर कपिलबस्तु, सैनामैना रिफ्रेश सेन्टर रुपन्देही र भैरहवा बसपार्कमा पनि चार्जिङ स्टेशनको काम अगाडि बढेको छ ।

बर्दघाट रिफ्रेश सेन्टर नवलपरासी, लेकसाइड पोखरा, टुरिष्ट बसपार्क पोखरा, पारस बसपार्क भरतपुर, मुग्लिन पुल, हेटौंडा बसपार्क र सिन्धुली बसपार्क सिन्धुलीमा निर्माण हुनेछ ।

त्यस्तै, खुर्कोट रिफ्रेश सेन्टर सिन्धुली, बरिगंज बसपार्क पर्सा, हरिऔंन रिफ्रेश सेन्टर सर्लाही, निजगढ बारा, लाहान बसपार्क, बेलका रिफ्रेश सेन्टर उदयपुर, इटहरी बजार र बिराटनगर ईभी चार्ज केन्द्रगरी कुल ३२ स्थान छनोट भएर काम अगाडि बढेको हो ।


Back_to_top