टोयोटा र सुजुकीले भारतमा बनाउँदै इलेक्ट्रीक एसयूभी, ५०० किमि रेन्ज

काठमाडौं । अटोकार इन्डियाले ‘वर्ल्ड एक्सक्लूसीभ’ भनेर प्रकाशित गरेको रिपोर्टमा मारुती सुजुकी र टोयोटाले भारतमा बन्नाउने पहिलो मिडसाइज इलेक्ट्रीक एसयूभी ग्लोबल मोडल हुने रिपोर्ट सार्वजनिक गरेको छ । यो रिपोर्ट सार्वजनिक भएसँगै यी दुई कम्पनी मिलेर बनाउन लागेको विद्युतीय कारको विषयमा चर्चा सुरु भएको हो ।

अहिले बजारमा चल्तीका मोडल हुन्डाई क्रेटा र किया सेल्टोसको तुलनामा ठूलो साइजमा आउने यो एसयूभी एक पटकको फुल चार्जमा ५०० किलोमिटर गुडाउन मिल्ले छ । सुजुकीको गुजरात प्लान्टमा उत्पादन हुने यो एसयूभी २०२५ बाट ग्लोबल मार्केटमा उपलब्ध हुने जनाइएको छ ।

कम्पनीले ‘वाईवाई-८’ नाम दिएर यसको उत्पादनमा जुटेको छ । यसअघि पनि यो नाममा एसयूभी बनिरहेको रिपोर्टहरु बाहिर आएका थिए । ४.२ मिटरभन्दा लामो साइजमा आउने यो एसयूभीमा २७०० एमएमको ह्वीलवेस रहने अनुमान गरिएको छ ।

दुबै कम्पनी मिलेर नयाँ मोर्डन इलेक्ट्रीक प्लेटफर्म तयार गरेको अटोकारले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

यो नयाँ एसयूभी ४८ किलोवाट आवर र ५९ किलोवाट आवर क्षमताको दुई व्याट्री अप्सनमा आउने बताइएको छ । ४८ किलोवाट आवर क्षमताको व्याट्री प्याकसँग १०२ किलोवाट क्षमताको मोटर र ५९ किलोवाट आवर क्षमताको व्याट्रीसँग १२५ किलोवाटको मोटर रहने छ ।

सानो व्याट्री जडान भएको कारमा टु ह्वील ड्राइभ र ठूलो व्याट्री भएको भर्सन अल ह्वील ड्राइभ सिस्टमको साथ आउने छ । टु ह्वील भर्सनलाई एक पटकको फुल चार्जमा ४०० किमि र फोर ह्वील भर्सनलाई ५०० किलोमिटर गुडाउन सकिन्छ ।

सुजुकी र टोयोटाले यो कारको लागि भारतमा नै उत्पादन भएको लिथियम आयोन व्याट्री प्रयोग गर्ने जनाएको छ । सुजुकीले भारतमा व्याट्री उत्पादनको लागि डेन्सो कर्प र तोसिवासँग संयुक्त लगानीमा गुजरातमा उद्योग लगाइरहेको छ ।


Back_to_top