‘महिला र पुरुष’ दुवैको रोजाइमा परेको सफल कार सधैंका लागि बन्द हुँदै

काठमाडौं । कम्प्याक्ट सेडान सेग्मेन्टमा पावरफुल इन्जिनको कारण महिला र पुरुष चालकलाई आकर्षित गर्न सफल कार र्‍यापिड सधैँको लागि बन्द हुने भएको छ । यसअघि सन् २०२० मा टीएसआई इन्जिनको साथ आएको र्‍यापिड अब भने सधैँको लागि बन्द हुने भएको हो ।

भारतमा फक्सवागेन समूहले उत्पादन गरेको र्‍यापिड आफ्नो वेबसाइटबाट हटाउँदै स्कोडा इन्डियाले र्यापिडको स्थानमा स्लाभिया मोडल लिष्टिङ गरेको छ । यद्यपि, र्‍यापिडको ‘म्याट एडिसन’ भने वेबसाइटमा राखी नै रहेको छ ।

कम्पनीले आगामी २८ फेब्रुअरीमा स्लाभिया सेडानको विक्री सुरू गर्ने तयारी गरेको छ । नेपाली बजारमा पनि एमएडब्ल्यू स्कोडाले चाँडै स्लाभिया ल्याउने जानकारी दिएको छ ।

पहिलो पटक सन् २०१२ मा नेपाल आएको र्‍यापिडमा १.६ लिटर क्षमताको एमपीआई इन्जिनमा थियो । यसले बजारमा निकै ठूलो सफलता समेत हात पारेको थियो । सन् २०२० मा भने स्मार्ट इन्जिनको अवधारणा सहित फक्सवागेन समूहको टीएसआई इन्जिन प्रयोग भएर आएको र्‍यापिड नेपालमा सेग्मेन्ट लिडर बनेको थियो ।

घट्दो सेडान कारको बजारमा पनि यूरोपियन डिजाइन र फिचरको कारण र्‍यापिडले सफलता हात पार्न सफल भएको थियो । यसलाई ‘पावर, कम्फर्ट र भ्यालु फर मनी’ प्रोडक्टको रूपमा बजारले स्वीकार गरेको थियो । नेपालमा टीएसआई इन्जिनसहितको र्‍यापिड विभिन्न ५ भेरियन्ट उपलब्ध रहेको छ ।

नयाँ र्‍यापिड टीएसआई १.० को अधिकतम पावर ११० पीएस र १७५ एनएम टर्क  रहेको छ । साथै, यसको ‘फ्युल इफिसेन्सी’ पनि निकै राम्रो छ । यसले प्रतिलिटर १४ किलोमिटरसम्म सहरी क्षेत्रमा माइलेज दिन्छ ।

र्‍यापिडले धेरैको मन जित्न सफल हुनुको मुख्य कारण यूरोपियन डिजाइन, आरमदायी इन्टेरियर र आधुनिक डिजाइन नै हो । कारमा दिइएको अटोमेटिक क्लाइमाट्रोनिक एसी, रियर एसी भेन्ट, टिल्ट एन्ड टेलिस्कोपिक स्टेरिङ, रियर पार्किङ सेन्सर, रफ रोड प्याकेज, फ्युल सप्लाई कट-अफ र फ्लाटिङ कोड सिस्टमसहितको इन्जिन इमोबिलाइजर जस्ता विशेषता मुख्य हुन् ।

समग्रमा एउटा फिचर लोडेड कम्प्याक्ट सेडान सधैँको लागि बन्द हुने अवस्था आएको छ । तथापि, र्‍यापिड चाहने ग्राहकले स्लाभियाबाट अझै बढी संतुष्टी पाउन सक्ने अवस्था रहेको छ ।


Back_to_top