एक लिटर पेट्रोलले १०० किमि माइलेज दिने एसयूभी

काठमाडौं । चिनियाँ ब्राण्ड डीएफएसकेले एउटा हाइब्रिड कार ‘सेरेस एसएफ–५’ विक्री गर्दै आएको छ । निकै आकर्षक फिचर सहित आएको यो एसयूभी सर्वाधिक रेन्जको लागि परिचित रहेको छ । यसलाई इलेक्ट्रीक वा हाइब्रिड दुबै मोडमा चलाउन मिल्छ ।

‘सेरेस एसएफ-५’ मा ३५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । यसलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न ६० मिनेट लाग्छ । इन्टेलीजेन्ट एक्सटेन्डड रेन्ज टेक्नलोजी भएको यो कारको ब्याट्री २० प्रतिशतभन्दा कम भएपछि यसमा रहेको १.५ लिटर क्षमताको कम्बस्चन इन्जिन चालु हुन्छ । यसले जेनेरेटरको रुपमा काम गर्दै व्याट्री रिचार्ज गर्छ । यसकै सहयोगमा गाडीको रेन्ज एक हजार किलोमिटर पुग्ने कम्पनीले दावी गरेको छ ।

यो एक प्रकारको हाइब्रिड कार हो । विद्युतीय मोटरबाट मापन गर्दा एक चार्जमा एक हजार किलोमिटर र कम्बस्चनबाट हेर्दा १.१ लिटर पेट्रोलले १०० किलोमिटर माइलेज प्रदान गर्नेछ ।

चिनियाँ कार उत्पादक ब्राण्ड डीएफएसके र चाइनाकै टेक्नोलोजी कम्पनी हुवावेले मिलेर यो क्रसओभर एसयूभी बनाएका हुन् । आकर्षक सिग्मा एलइडी डिआरएल लाइट दिएको सेरेसमा डायमण्ड ग्रिल र हिडन डोर ह्याण्डल पाउन सकिन्छ । यसमा दिइएको डोर ह्याण्डल गाडीको बडी भित्र लुकेको हुन्छ । स्मार्ट किको सहायताले १ मिटरको रेडियसबाट अनलक गरेपछि मात्रै डोर ह्याण्डल बाहिर आउँछ । तर, ३० सेकेन्डसम्म डोर ह्याण्डलमा कुनै एक्टीभीटी नभए आफैँ डोरलक हुन्छ ।

निकै स्पोर्टी डिजाइनमा तयार भएको यो कारमा २० इन्चको ठूलो साइजको ह्वील दिएको छ । फोर बाइ फोर सिस्टम, अगाडि २५५ र पछाडि १५० किलोवाट मोटर जडान भएको यो कारले ४.७ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्छ ।

सेरेस एसएफ–५मा पाँच फरक ड्राइभिङ मोड, चार ट्राभल मोड, तीन तरिकाले मिलाउन मिल्ने स्टेरिङ मोड र दुई प्रकारको ब्रेकिङ मोड दिइएको छ । यसको ड्यासबोर्डमा भर्टिकल डिजाइनको १७ इन्चको स्मार्ट इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । टचस्कृन युनिटमा भ्वाइस कमाण्ड क्यापाबिलीटी, वायरलेस चार्जिङ, हाईकार, डिजिटल सेटिङ र अडियो भिडियो प्लेव्याक जस्ता फिचरहरु पाउन सकिन्छ ।

हुवावेको हाईकार टेक्नलोजीले स्मार्ट कनेक्सनको रुपमा काम गर्छ । जसको सहयोगमा सुरक्षा बढाउनुको साथै, आफ्नो स्मार्टफोन कनेक्ट गरेर चलाउन सकिन्छ ।

सुरक्षा फिचरको रुपमा लेन चेन्ज असिस्ट, लेन चेन्ज वार्निङ, साइड डोर ओपनीङ वार्निङ, लेन डिपाचर वार्निङ, हाइस्पीड पाइलट असिस्ट, फुलस्पिड एडाप्टीभ क्रुज, अटोमेटीक एमर्जेन्सी ब्रेकिङ, ट्राफिक जाम असिस्ट, रियरक्रस ट्राफिक अलर्ट, लेन कीप असिस्ट, स्पीड लिमिट असिस्ट र ३६० डिग्रीको प्यानारोमिक भ्यू रहेको छ ।


Back_to_top