काठमाडौं । प्रदुषण रहित सवारीसाधनमा नयाँ नयाँ प्रयोग भइरहेका छन् । हाइब्रिड, प्लगइन हाइब्रिड, सोलार, फुल इलेक्ट्रीक र हाइड्रोजन फ्यूलसेल पछिल्ला वर्षहरुमा चर्चामा रहेका ‘न्यू इनर्जी भेहिकल’ हुन् ।
अमेरिकी कम्पनी हम्बल मोटर्सले ‘हम्बल वान’ एसयूभीको कन्सेप्ट सार्वजनिक गरेर सोलार कारको खोजमा नयाँ उपलब्धी भएको जनाउ दिएको छ । कम्पनीले बजारमा ल्याउन लागेको सोलार प्यानल जडान भएको कार निकै पावरफुल रहेको छ ।
हम्बल वान एसयूभीको छतमा लगाइएको सोलार प्यानलले दैनिक ९६ किलोमिटर गुड्न पुग्ने इनर्जी प्रदान गर्ने कम्पनीको दावी छ । विजुलीबाट यसमा रहेको ब्याट्रीलाई एक पटक फुल चार्ज गरेपछि धेरै समयसम्म चार्जमा जोड्नु नपर्ने कम्पनीको भनाई छ ।

यसअघि हुन्डाईले आयोनीक ५ मा सोलार प्यानल दिएपनि यसले वार्षिक २ हजार किलोमिटर गुड्न पुग्ने ब्याट्री मात्रै चार्ज गर्न सक्ने क्षमता राख्छ । तर, हम्बल वानले वार्षिक ३५ हजार किलोमिटर गुड्न पुग्ने चार्ज प्रदान गर्नेछ ।
हम्बल मोटर्सले यसको छतमा ८० स्क्वायर फिट क्षेत्रफलमा फोटोभोल्टीक सेलहरु जडान गर्नेछ । यी सेलहरुले सुर्यको प्रकाशलाई इनर्जीमा परिणत गर्नेछन् । यसमा दिइएको ब्याट्रीलाई एक पटक फुल चार्जगर्दा ८०५ किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ । यसको पावर पनि निकै धेरै १०२० हर्सपावर छ ।
अमेरिकाबाट विक्री सुरु हुने यो कारको मूल्य १ लाख ९ हजार डलर रहने कम्पनीले उल्लेख गरेको छ । अहिलेसम्म करिब १ करोड ४६ लाख यूनिट प्रि-अर्डर रहेको कम्पनीले जनाएको छ ।


