एक वर्षमै ४३ प्रतिशतसम्म बढ्यो गाडी भाडा

काठमाडौं । सरकारले यात्रु बाहक सवारीसाधनको भाडा १० र मालबाहक सवारी भाडा १५ प्रतिशतले बढाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार भाडा वृद्धि गरेको हो ।

सरकारले असारमा २० देखि २८ प्रतिशत भाडा वृद्धि गरेको थियो । अहिले १० देखि १५ प्रतिशत भाडा बढ्दा एक वर्षमै ३० देखि ४३ प्रतिशतसम्म भाडा बढेको हो ।

मालबाहक सवारी साधनको हकमा पहाड र तराईमा छुट्टाछुट्टै क्रमशः १३ र १५ प्रतिशतका दरले भाडा बढाइएको हो । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो ।

संघीय सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् । भौतिक पूर्वाधार तथा यायायातमन्त्री रेणुकुमारी यादवले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय गरेकी छिन् ।

नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने ब्यवसायीहरुको भनाई छ ।


Back_to_top