काठमाडौं । सरकारले विलासी वस्तुमा उच्च कर वृद्धि गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबाट मदिरा, सुर्तीजन्य, महँगा मोटरसाइकल, गाडी, ठूला इभी, कस्मेटिक सामान लगायत वस्तुको कर उच्चदरमा वृद्धि गरेको हो ।
तर सरकारले २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकल/स्कुटरमा करको दर भने घटाएको छ । सरकारले १२५ देखि २०० सीसीम्मका मोटरसाइकल/स्कुटरमा अन्तःशुल्क १० प्रतिशत घटाएको छ । यसअघि ५० प्रतिशत रहेको अन्तःशुल्क ४० प्रतिशत झारेको हो । बजेटले याे रेन्जकाे माेटरसाइकल/स्कुटरमा लाग्दै आएको ३० प्रतिशत भन्सार भने चलाएकाे छैन ।
सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क भने २० प्रतिशतले बढाएर ८० प्रतिशत पुर्याएको छ । यसअघि यो रेन्जमा ६० प्रतिशत अन्तःशुल्क रहेको थियो ।
यसैगरी, यही रेन्जको बाइकमा भन्सार शुल्क ३० प्रतिशतबाट बढाएर ४० प्रतिशत बनाइएको छ । यसअघि सबै मोटरसाइकलमा ३० प्रतिशत नै भन्सार लाग्दै आएकोमा २५१ सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा बढाएर ७० प्रतिशत पुर्याएको छ । यो रेन्जमा अन्तःशुल्क ८० प्रतिशत पुर्याएको छ ।
यस्तै, ५०१ सीसीदेखि माथिका सबै मोटरसाइकल आयात गर्दा भन्सार ८० प्रतिशत भन्सार लाग्नेछ भने १०० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।


