पुरानै मूल्यमा निसान लिफ किन्न पाइने, यस्तो हुन सक्छ नयाँ मूल्य

काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले निसान लिफ बजेट आउनु केही दिन अगाडि नेपाल ल्याएको थियो । करिब ३ महिनापछि नेपाल आएको लिफ इभी अहिले विक्री भइरहेको कम्पनीले जनाएको छ ।

‘हामीले बजेट अगाडि ल्याएको इभी केही यूनिट बाँकी छ, ति गाडी किन्ने ग्राहकलाई पुरानै मूल्यमा हामी उपलब्ध गराउने छौं’, पायोनियर मोटोकर्पको डेपुटी जनरल मेनेजर ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।

चन्दका अनुसार सरकारले बढाएको कर अनुसार निसान लिफको नयाँ मूल्य ९१ लाख रुपैयाँ हाराहारी हुनेछ । सरकारले १०० किलोवाट भन्दा माथि पीकपावर भएको इभीमा भन्सार र अन्तःशुल्क दुबै लगाएको छ । १०० देखि २०० किलोवाट पीकपावर भएको गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ । त्यसैले यसअघि ६२ लाख ९९ हजारमा विक्री हुँदै आएको निसान लिफमा एकै पटक २८ लाख रुपैयाँ मूल्य बढ्ने भएको हो ।

निसान लिफमा ४० किलोवाट आवरको व्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा ३६३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । तर, सडकको अवस्था, वातावरण जस्ता विषयले यसको रेन्ज निर्धारण हुने हुँदा करिब ३०० किलोमिटर रेन्ज आउने अनुमान गर्न सकिन्छ ।

कारमा व्याट्री बचतको लागि विभिन्न तीन ड्राइभिङ मोड उपलब्ध रहेको छ । ईको मोडमा कार चलाउदा सामान्यभन्दा १० प्रतिशत बढी रेञ्ज आउने कम्पनीले दाबी गरेको छ ।


Back_to_top