कम्पासभन्दा सस्तो नयाँ एसयूभी ल्याउँदै जीप, अलह्वील ड्राइभ सिस्टम पनि हुने

काठमाडौं । अमेरिकी उत्पादक जीपले भारतमा कम्पास र मेरिडियनपछि नयाँ एसयूभी ल्याउने तयारी गरेको छ । कम्पनीले भारतीय बजारलाई ध्यानमा राखेर नयाँ एसयूभी ल्याउन लागेको हो ।

अहिले बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाईको क्रेटा, किया सेल्टोस, फक्सवागेनको टाइगुन र स्कोडाको कुशक जस्ता मोडलले राम्रो व्यापार गरिरहेका छन् । मारुती र टोयोटाले पनि यसै सेग्मेन्टमा प्रतिस्पर्धा गर्न नयाँ एसयूभी ल्याउँदै छन् ।

भारतमा सर्वाधिक रुचाइएको सेग्मेन्टमा अमेरिकी एसयूभी एक्सपर्ट जीप पनि पछाडि किन रहन्थ्यो र ? जीपले पनि आफ्नो रेनेगेडको प्ल्याटफर्ममा कम्प्याक्ट एसयूभी बनाइरहेको छ । जीपले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ल्याउने यो एसयूभी भारतीय बाटोमा परिक्षण भइरहेका तस्विरहरु बाहिर आएका छन् ।

जीपले ल्याउने नयाँ एसयूभी सेग्मेन्टमै पहिलो पटक अलह्वील ड्राइभको अप्सनसहित बजारमा आउन लागेको हो । यस कुरालाई जीपको ग्लोबल डिजाइन हेड राल्फ गिल्सले गत वर्ष नै पुष्टी गरेका थिए ।

जीपले आफ्नो नयाँ एसयूभीमा परम्परागत अलह्वील ड्राइभ सिस्टमको साटोमा इअलह्वील ड्राइभ सिस्टम भएको इलेक्ट्रीफाइड पावरट्रेन सिस्टम प्रयोग गर्नेछ । उक्त प्रविधि प्रयोग भएको रेनेगेड फोरएक्सई र कम्पास फोरएक्सई गतवर्ष नै यूरोपीयन बजारमा विक्री सुरु गरिसकेको छ ।

यसमा रहने प्लगइन हाइब्रिड प्रविधिले अगाडिको चक्कामा १.३ लिटर टर्बो पेट्रोल इन्जिनले पावर दिनेछ भने पछाडिको चक्कालाई इलेक्ट्रीक मोटरको पावरले धक्का दिनेछ फलस्वरुप यसको पावर १९० देखि २४० हर्सपावरसम्म हुनेछ ।


Back_to_top