काठमाडौं । बीवाईडीको आधिकारीक विक्रेता साइमेक्स इंकले इभी साक्षरता अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानामा मेकानिक्सहरुलाई ट्रेनिङ दिने लक्ष्यसहित गण्डकी प्रदेशको पोखरामा ट्रेनिङ कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको सुरुवात गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय गाडी हरेक कुनामा रहेका वर्कसपले सामान्य समस्या वर्कसपमा कामगर्नेहरुलाई बुझाउने आफुहरुले प्रयास गरेको बताइन् । उनले भनिन्, ‘विद्युतीय गाडीमा आउने सामान्य समस्या पनि थाहा पाउने अवस्था हुँदा धेरै समस्या हुन्छ । त्यसलाई हटाउन हामीले प्रयास गरेका हौं ।’
कार्यक्रम उद्घाटनमा प्रमुख अतिथि रहेका नाडाका अध्यक्ष ध्रुव थापाले आधुनिक टेक्नोलोजी थाहा नपाउने हो भने अब ब्यवसायमा बस्नै कठिन हुने भएकोले यस्ता प्रशिक्षण कार्यक्रमले सबैलाई ज्ञान बढ्ने बताए ।
‘विद्युतीय गाडीको प्रयोग बढेसँगै यसको विषयमा जसले पनि जानकारी राख्दा राम्रो हुन्छ । तपाईहरुले यो कार्यक्रमबाट पक्कै केही सिकेर जानुहुन्छ । र, आफ्नो व्यवसायमा यसले सहयोग गर्छ’ अध्यक्ष थापाले भने ।
कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मेकानिक्स, ब्यवसायी, प्रोफेशनल र विद्युतीय गाडीमा रुची राख्ने करिब ७० जनाको सहभागिता रहेको थियो । कार्यक्रम हिजो शुक्रबार पोखराको माउन्ट कैलास रिसोर्टमा आयोजना भएको थियो ।


