काठमाडौं । मारुती सुजुकीले घोषणा गरेभन्दा चाँडो इलेक्ट्रीक एसयूभी ल्याउने तयारी गरेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले सन् २०२५ मा पहिलो इलेक्ट्रीक एसयूभी ल्याउने जनाएको थियो । तर, अब सन् २०२४ मै इलेक्ट्रीक एसयूभी आउने बताइएको हो ।
अनलाइनहरुले प्रकाशित गरेको रिपोर्ट अनुसार मारुतीले ‘वाइवाइ८’ प्रोडक्सन कोड नेम दिएर इलेक्ट्रीक एसयूभी उत्पादनको काम अगाडि बढाएको छ । कम्पनीले ल्याउने पहिलो इलेक्ट्रीक एसयूभी टु ह्वील र अल ह्वील दुबै ड्राइभिङ अप्सनमा उपलब्ध हुनेछ ।
मिडिया स्रोतका अनुसार मारुतीले बनाउने यो ईभीको लम्बाई ४.२ मिटर र ह्वीलवेस करिब २७ सय एमएमको हुनेछ । मारुतीले यो एसयूभी बनाउन टोयोटाको स्केटबोर्ड आर्किटेक्चरमा आधारित ग्लोबल ४० पीएल प्ल्याटफर्म प्रयोग गर्ने छ ।
यो ईभीको आधिकारीक स्पेसिफिकेशन बाहिर नआएता पनि पहिलो इलेक्ट्रीक एसयूभीमा ४८ किलोवाट आवरको व्याट्री र १०० किलोवाट क्षमताको हुनेछ । यसलाई एक पटकको फुल चार्जमा ४०० किलोमिटर गुडाउन सकिन्छ ।
त्यस्तै अल ह्वील ड्राइभ अप्सनमा स्टायडर्ड भेरियन्टको भन्दा ठूलो ५९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक र १२५ किलोवाटको मोटर रहने छ । यसको रेन्ज करिब ५०० किलोमिटर हुने अनुमान गरिएको छ ।


