स्पीड हाइवे र टनेल यात्राको चाहना पुरा गर्ने तरखरमा ‘फाष्ट ट्रयाक’

काठमाडौं । तीब्र गतिमा गाडी चलाउन मिल्ने सडक नेपालमा अहिलेसम्म कल्पनाको विषय मात्रै हो । सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने र त्यसलाई छोटो समयमा काठमाडौंसँग जोड्ने योजना अनुसार तराई/मधेश द्रुतमार्ग निर्माण थालेको हो ।

राष्ट्रिय गौरवको आयोजनामा राखेर ६ वर्षअघि निर्माण सुरु भएको फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाले यसको काम सुरु गरेको ६ वर्ष वितेपनि पछिल्ला दुई वर्ष आशातित काम भएका छन् । यद्यपि लक्ष्य भेट्टाउन अझै धेरै काम गर्नु पर्नेछ ।

आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७३/७४ मा नेपाली सेनालाई यसको निर्माण जिम्मा दिइएको थियो । अब निर्माण अवधि अब २ वर्ष मात्र बाँकी रहेको छ । तर, काम भने समग्रमा २१.५ प्रतिशत मात्र पुरा भएको दखिन्छ । अहिलेकै तरिकाले काम हुँदा दुई वर्षमा अझै ७९ प्रतिशत काम २ वर्ष भित्रै सम्पन्न हुने कुरामा विश्वास गर्न कठिन देखिन्छ ।

सुरुवाती वर्षहरुमा कामको ठेक्का नै लाग्न नसक्दा काम सुस्त भएको नेपाली सेनाका प्रवक्ता तथा ‘फाष्ट ट्रयाक निर्माण कार्यान्वयन तथा अप्रेशन’ प्रमुख विश्ववन्धु पहाडीले बताए ।

७२ किलोमिटर लामो फास्ट ट्रयाकलाई विभिन्न ११ प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ । सोमध्ये ५ वटा प्याकेजको ठेक्का सम्झौता भई तीव्र गतिमा काम भइरहेको र २ वटा प्याकेजको ठेक्का प्रक्रिया चलिरहेको र ४ वटा प्याकेजको ठेक्का आगामी आर्थिक वर्ष लाग्ने प्रबक्ता पहाडीले जानकारी दिए ।

सुरुङ खन्ने कामको सुरुवात

नयाँ ठेक्का लागेसँगै ३ स्थानमा सुरुङ खन्ने काम सुरु भएको छ । ८० वटा पुल निर्माणको ठेक्का लाग्ने चरणमा रहेको छ भने जग्गा प्राप्ती, रुख कटान, कटिङ फिलिङ लगायतका काम चलिनै रहेका छन् । यद्यपि, ललितपूरको खोकना जग्गा विवाद हालसम्म टुंगिन सकेको छैन ।

चालु आर्थिक वर्षमा सुरुङको लागि दुई वटा प्याकेजमा ठेक्का लागेको हो । पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्मको सुरुङ मार्ग निर्माणको ठेक्का लिएको छ । ३.३५५ किलोमिटर उक्त सुरुङ निर्माणको काम २१ अर्ब ६१ करोड रुपैयाँ लागतमा हुन लागेको हो । दुवै प्याकेजका ३ वटै सुरुङको डिजाइन स्वीकृत भई काम भइरहेको छ ।

दोस्रो प्याकेजमा धेद्रेदेखि लेनडाँडासम्मको सुरुङमार्ग चाइनिज निर्माण कम्पनी पोली च्याङ्दाले गरिरहेको छ । ३.०३ किलोमिटर उक्त सुरुङ मार्गको निर्माण २८ अर्ब ५३ करोड रुपैयाँमा हुने गरी ठेक्का लागेको हो ।

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ वैशाख ३१ मा दुवै कम्पनीलाई ठेक्का दिइएको हो । २०८०/८१ सम्म निर्माण म्याद रहेको फास्ट ट्रयाकको निर्माण अवधि थप ३ वर्षका लागि थपिएको छ ।

आगामी वर्षका ३० अर्ब खर्च गर्ने

फास्ट ट्रयाक निर्माणका लागि हालसम्म ३२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा फास्ट ट्रयाक निर्माणका लागि ८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ विनियोजन गरिएको थियो । उक्त बजेट मध्ये हालसम्म ८ अर्ब ६१ करोड रुपैयाँ खर्च भइसकेको पहाडीले बताए । उनले अब चालु आवको केही भुक्तानी हुन बाँकी रहेको बताए ।

‘यो वर्षको बजेट हाम्रो भुक्तानीको लागि पर्याप्त भएको छ, ९७.५ प्रतिशत भुक्तानी गरिसकेका छौं, असार मसान्तसम्म शतप्रतिशत खर्च हुन्छ,’ प्रमुख पहाडीले भने ।

त्यस्तै, गत आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा ८ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा १ अर्ब ९६ करोड रुपैयाँ मात्र खर्च भएको थियो ।

यस्तै, आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९/८० मा ३० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । आयोजनको कुल लागत १ खर्ब ७५ अर्ब रुपैयाँमा अनुमान गरिएको छ । यो आयोजना निर्माण सम्पन्न भएपछि सुरुङ यात्राको चाहना पनि नागरिकले पुरा गर्नेछन् ।


Back_to_top