काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेपालमा विक्री सुरु गरेको नेक्सन ईभीको डार्क एडिसन रेगुलर भेरियन्टको तुलनामा २ लाख रुपैयाँ महंगो रहेको छ ।
कम्पनीले विक्री गर्दै आएको एक्सजेड प्लस लग्जरीको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ भने डार्क एडिसन एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य क्रमशः ४१ लाख ९९ हजार र ४३ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री सुरु भएको हो ।
ग्राहकले डार्क एडिशन किन्दा २ लाख रुपैयाँ बढी तिर्नु पर्छ । नियमित विक्री हुँदै आएको नेक्सन ईभी सेतो र निलो कलरमा मात्र उपलब्ध थियो । अहिले आएको डार्क एडिसन पूर्ण रुपमा कालो कलर थिममा छ । यसको बाहिरी कलरदेखि भित्र ड्यासबोर्ड, सिट लगायतका झट्ट आँखाले देख्न स्थानहरु कालो कलरमा सजाइएको छ ।
यसको मोटर, ब्याट्री पहिलेकै मोडलबाट लिइएको हो । नयाँ व्ल्याक एडिसनमा पनि ९५ किलोवाटको मोटर र ३०.२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ ।
मोटर र ब्याट्री पुरानो नेक्सन ईभीको समान रहेता पनि अन्य फिचरहरु थपिएको छ । यो एडिसनमा बाहिरी आवरण पूर्णतया कालो कलर रहेको छ यसमा १६ इन्चको डार्क कलरको प्रिमियम अलोय ह्वील दिइएको छ । इन्टेरियरमा पनि निख्खर कालो कलरको लेदर सिट, कालै कलरको ड्यासबोर्ड र कहिकतै निलो कलरको लाइनिङ प्रयोग भएको छ ।
डार्क एडिसन नेक्सन ईभीमा सिग्नेचर एलइडी टेलल्याम्प, सनरुफ, पियानो व्ल्याक कलरको ओआरभीएम, रुफरेल, नयाँ सार्क फिन एन्टेनाका साथै बडी कलर कै डोर ह्याण्डल पाउन सकिन्छ ।


