सिजनमै कम्बस्चनमा प्रतिबन्ध, इलेक्ट्रीकमा सप्लाई समस्या

काठमाडौं । साउन लागेसँगै गाडी र मोटरसाइकल आयातकर्ता कम्पनीहरूले दशैं-तिहार स्कीममा काम सुरू गर्थे । साउनको पहिलो सातादेखि नाडा अटो शोको तयारीमा जुट्ने कम्पनीहरू विगत ३ वर्षदेखि अटो शोमा व्यस्त हुन पाएका छैनन् ।

अघिल्ला दुई अटो शो कोभिड १९ को कारण रद्द भएको थियो भने यसपटक आयात प्रतिबन्धले स्थगित भयो । नाडा अटो शोको तयारी थालेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयात प्रतिबन्ध लम्बिएसँगै अटो शो २०२२ स्थगित गरेको हो ।

नाडामा विशेषगरी एक दर्जनभन्दा धेरै नयाँ मोडल सार्वजनिक गर्ने तयारीमा कम्पनीहरू जुटेका थिए । अटो शो २०२२ मा मारुती सुजुकीले नयाँ जेनेरेशन बलेनो र ब्रेजा, टाटाले नेक्सन म्याक्स इभी र पन्च, हुन्डाईले फेसलिफ्ट भेन्यू, स्कोडाले स्लाभिया, महिन्द्राले एक्सयूभी ७०० र बोलेरो नियो, एमजीले एस्टर जस्ता मोडल सार्वजनिक गर्ने तयारी गरेका थिए ।

उसोत अटो शोलाई मध्येनजर गर्दै बीवाइडीले एटो थ्री र डल्फिन ईभी पनि नेपाल ल्याउने तयारी गरेको थियो । अटो शो स्थगन भएसँगै डल्फिन तत्काल नेपाल आउने वा नआउने विषय एकीन भएको छैन ।

आइसी (इन्टरनल कम्बस्चन) इन्जिन भएका गाडीको आयात रोकिएसँगै विद्युतीय गाडीमा के कस्ता विकल्प छन् भन्ने विषयमा छलफल हुनु स्वाभाविक हो । अहिलेको अवस्थामा नयाँ इलेक्ट्रीक कारको विकल्प पनि त्यति उत्साहजनक देखिँदैन । यद्यपि, एमजी जेडएस ईभी, बीवाइडी एटो थ्री, हुन्डाई कोना, टाटा नेक्सन, बीवाइडी अल न्यू ई-सिक्स, हुन्डाई आयोनिक ५ र टाटा टिगोर ईभी र होजोनको नेटा भी ग्राहकको प्रमुख रोजाइमा पर्ने मोडल हुन् ।

विद्युतीय गाडी टाटा नेक्सन बाहेक अन्य सबै मोडल चीनबाट आयात हुँदै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा डलर निकै बलियो बन्दा एक्सचेन्ज रेट निकै माथि पुगेको छ । एक्सचेन्ज रेटकै कारण गाडीको मूल्य ६ देखि ८ प्रतिशतसम्म बढ्ने अवस्था आएको छ । त्यसको प्रत्यक्ष असर चीन र जापानलगायतका तेस्रो मुलुकबाट आउने ईभीमा पर्नेछ ।

कति छ बजारमा गाडीको उपलब्धता ?

यदि सरकारले भदौ १५ गतेबाट एलसी खोल्न नदिने हो भने बजारमा धेरै छनोट उपलब्ध हुने छैन । अहिले नै बजारमा चल्तीका मोडल मानिने गाडीहरूको उपलब्धता अत्यन्त न्यून रहेको छ । त्यसमा पनि गाडी विक्रेताको वार्षिक मागको करिब ४० प्रतिशत विक्री गर्ने समयमा नै गाडी नहुने अवस्था सृजना हुँदैछ ।

विद्युतीय गाडीमा उच्च माग भएर पनि उपलब्धता छैन भने कम्बस्चन गाडी सरकारले आयात गर्न नदिएपछि बजारमा गाडी किन्न चाहनेले आफ्नो चाहना अनुसारको गाडी किन्न पाउने छैनन् ।

दशैं तिहार जस्ता चाडपर्वमा नै गाडीको उपलब्धता नहुने भएसँगै गाडी विक्रेताहरू तनावमा देखिन थालेका छन् । अहिलेको अवस्थालाई टिप्पणी गर्दै नाडाका अध्यक्ष ध्रुव थापा भन्छन्, ‘राजस्व बुझाउनु पर्ने, रोजगारी दिनुपर्ने, बैंकको साँवा ब्याज भुक्तानी गर्नुपर्ने, गाडी ल्याएर विक्री गर्न पनि नपाउने । योभन्दा बढी अन्याय व्यवसायीमाथि अरू के हुन्छ ।’

थापाका अनुसार अहिले प्यासेन्जर कारको स्टक लगभग सकिएको छ । सरकारले एलसी खुल्ला नगरेसम्म ग्राहकले धेरै छनोट पाउने छैनन् ।


Back_to_top