काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले देशका ७ वटै प्रदेश राजधानी सहित ठूला सहरमा चार्जिङ नेटवर्क विस्तार गर्ने योजना अगाडि सारेको छ । कम्पनीले असोज महिनासम्ममा ७ वटै प्रदेशमा चार्जिङ स्टेशन निर्माण गर्ने जानकारी दिएको हो ।
कम्पनीले ल्याउने चार्जिङ नेटवर्क फास्ट डिसी चार्जर हुनेछ । साथै, आवश्यकता हेरेर साना ७ किलोवाट क्षमताका एसी चार्जर पनि लगाउने योजनामा सिजी मोटर्सको छ ।
‘हामीले मगाएका चार्जर नेपाल आउँदै छन् । केही दिन भित्रै बजारमा ती चार्जर जडानको काम सुरु गरिने छ । सम्भव भएसम्म दशैं अगाडि ७ वटै प्रदशे राजधानीमा चार्जर जडान हुनेछ’, सिजी मोटर्सका सीइओ हेमन्त अग्रवालले मेरोअटोसँग भने ।
अग्रवालका अनुसार कम्पनीले सुरुमा दुई यूनिट ल्याएर सार्वजनिक गरेको होजोन मोटर्सको नेटा भी अब विक्रीको लागि उपलब्ध हुन लागेको छ । अबको दुई/चार दिन भित्रै नेटा भी बुकिङ गर्ने ग्राहकले डिलिभरी लिन सक्नेछन् ।
गाडीको विक्री बढाउने योजना अनुसार सिजीले देशका अन्य ठूला सहरमा पनि चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको छ । साथै, डिलर नेटवर्क विस्तार र ग्राहक केन्द्रित योजना अनुसार अगाडि बढ्ने तयारी भइरहेको सीईओ अग्रवालले जानकारी दिए ।

बजारमा अहिले कुनै पनि किसिमका पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात नभएको समयमा ३८ लाख मूल्यको नेटा भी नेपाल ल्याएर धेरैको ध्यान खिच्न सफल भएको सिजी मोटर्सले चाँडै थप नयाँ मोडल समेत ल्याउने योजना बनाइ रहेको छ । विद्युतीय सवारीसाधनमा सबै किसिमका गाडी खोज्ने ग्राहकको आवश्यकता पुरा गर्न कम्पनीले काम गरिरहेको जनाएको छ ।
यस्तो छ नेटा भी
नेटा भी क्रसओभर डिजाइनमा तयार भएको सानो कार हो । प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेकले यसलाई पृथक बनाएको छ ।
कम्पनीले यसमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । सिजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गरेको छ ।
नेटा भीमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ । यसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने दावी गरिएपनि नेपाली सडक कन्डिसनमा ३०० किलोमिटरसम्म रेन्ज आउन सक्नेछ ।

