काठमाडौं । भारतमा ईभी उत्पादनको पहिलो खुड्किलो पार गरेको महिन्द्रा निकैपछि परेको अनुभूती बजारमा हुन थालेको थियो । तर, कम्पनीले आगामी सेप्टेम्बर महिनामा एक्सयूभी ४०० बजारमा उतार्ने निर्णय लिएसँगै टाटासँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
टाटा नेक्सन अहिले भारतमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक एसयूभी हो । कम मूल्य, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, आधुनिक फिचर लोडेड भएकै कारण टाटा नेक्सन ईभीको माग उच्च रहेको छ । भारतमा मात्रै मासिक ३ हजार ५०० यूनिट हाराहारी नेक्सन ईभी विक्री भइरहेको छ । नेपालमा पनि अहिले चल्तीको मोडल नेक्सन नै हो ।
अब महिन्द्राले यही सेग्मेन्टमा दुई फरक मोटर र ब्याट्री पावरमा एक्सयूभी ४०० ल्याउने चर्चा भइरहेको छ । कम्पनीले एक्सयूभी ४०० मा १०० किलोवाट र ११० किलोवाट क्षमताको दुई फरक मोटर दिने रिपोर्टहरु सार्वजनिक भएका छन् ।
अहिले पनि टाटाको ९६ किलोवाट र १०५ किलोवाट क्षमताका दुई मोटर अप्सन र दुई ब्याट्री ३०.२ किलोवाट आवर र ४० किलोवाट आवर पाउन सकिन्छ । त्यसलाई टक्कर दिन महिन्द्रा तयार भएको अनुमान गरिन्छ ।

महिन्द्राले आफ्नो ब्याट्री र मोटरको आधिकारीक जानकारी नदिएपनि एक्सयूभी ४०० मा सर्ट रेन्ज र लङ रेन्ज दुई ब्याट्री अप्सन रहने छ । महिन्द्राले एक पटकको फुल चार्जमा ४०० किलोमिटर गुड्न सक्नेगरी आफ्नो पहिलो एसयूभी बजारमा ल्याउने अपेक्षा गरिएको छ ।
महिन्द्राले सन् २०२० बाट इटुओ प्लसको उत्पादन बन्द गरेको थियो । साथै, इभेरिटोको पनि राम्रो विक्री पाउन सकेको थिएन । आफ्नो माइक्रो एसयूभी केयूभी १०० र एक्सयूभी ४०० महिन्द्राको पाइपलाइनमा रहेका नयाँ मोडल हुन् । साथै अगष्ट १५ तारिखमा कम्पनीले ४ नयाँ कन्सेप्ट सार्वजनिक गरेर आफु ईभीको लागि महत्वपूर्ण उत्पादक रहेको जनाउ दिने तयारी गरेको छ ।

