काठमाडौं । सानो ईभी खोज्नेको लागि ‘वूलिङ मिनि एयर’ नेपाल आउने भएको छ । विशेषत सहरी क्षेत्रको लागि उपयुक्त यो मिनि कार बज्र ग्रुपले नेपाल ल्याउन लागेको हो ।
नेपालमा इलेक्ट्रीक कारको माग तिब्रगतिमा वृद्धि भएसँगै विभिन्न कम्पनीले नयाँ नयाँ ब्राण्डका ईभी ल्याइरहेका छन् । जनरल मोटर्स–एसएआईसी–वूलिङ गरी तीन कम्पनी मिलेर उत्पादन गरेको वूलिङ एयर इन्डोनेशियामा उत्पादन भएर नेपाल आउने छ ।
‘हामीले इन्डोनेशियामा उत्पादन हुने वूलिङ एयर’ नेपाल ल्याउन लागेका हौं । यही हप्ता इन्डोनेसियाबाट नेपालको लागि गाडी हिड्ने छ । नाडाले आयोजना गर्ने ईभी एक्स्पो २०२२ मा प्रदर्शनी गर्ने हाम्रो सोचाई छ’, कम्पनीका एजीएम एनके सरदले मेरोअटोसँग भने ।
वूलिङ मिनि सन् २०२० बाट चीनमा उत्पादन सुरु भएको हो । अमेरिकी अटो जाइन्ट जनरल मोटर्स र चीनको सबैभन्नदा ठूलो गाडी उत्पादक ग्रुप एसएआईसीको समेत लगानी रहेको कारण यसको चर्चा धेरै नै हुँदै आएको छ ।

सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण चीनमा मात्रै दुई वर्षमा ७ लाख यूनिट वूलिङ विक्री भएको छ । यो मिनि कारको लम्बाई २९७२ एमएम, चौडाई १५०६ एमएम र उचाई १६३० एमएम रहेको छ ।
नेपाल आउने वूलिङ एयर दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसको कम रेन्ज दिने स्टायडर्ड भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री रहने छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै रहने छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
लङ रेन्ज मोडल भने २८.४ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुनेछ । यसमा मोटर पनि ५० किलोवाट क्षमताको दिइएको छ । यसले एक पटकको फुल चार्जमा ३०० किमि रेन्ज दिने कम्पनीको दावी छ ।
दुई सिट र चार सिट अप्सनमा नेपाल आउने वूलिङ एआई फिचर भएको मिनि ईभी हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् ।
कम्पनीले यसको मूल्यको विषयमा आधिकारीक धारणा बाहिर नल्याए पनि यसको सुरुवाती मूल्य २५ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

