काठमाडौं । भारत सरकारले सन् २०२३ अप्रिलबाट ‘ई२० कम्प्लायन्स’ लागु गर्ने निर्णय गरेसँगै अटोमोवाइल कम्पनीहरु ‘फ्लेक्स फ्यूल’ इन्जिन निर्माणमा जुटेका छन् ।
भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले ‘इ-८५ फ्लेक्स फ्यूल इन्जिन बनाउन सुरु गरेको जनाएको छ । इ-८५ इन्जिनमा ८५ प्रतिशतसम्म इथानोल मिसाएर प्रयोग गर्न सकिन्छ । अहिले पनि भारतमा १० देखि १५ प्रतिशत इथानोल मिक्स गर्ने गरिएको छ ।
‘फ्लेक्स फ्यूल’ इन्जिन बनाउन अहिले चल्तीमा रहेको इन्जिनमा व्यापक परिमार्जन गर्नु पर्ने हुन्छ । विश्वमा इ-८५ फ्लेक्स फ्यूल इन्जिनहरु यूरो चार मापदण्ड बारबर मात्रै भएपनि भारतमा पहिलो पटक बीएस ६ मापदण्ड अनुसार यसलाई बनाउन लागिएको हो ।
के हो त फ्लेक्स फ्यूल ?
फ्लेक्स फ्यूल अंग्रेजी शब्द ‘फेग्जीवल फ्यूल’बाट आएको हो । यो एक प्रकारको इन्धन नै हो । यसलाई पेट्रोलमा निश्चित प्रतिशतसम्म मेथानोल वा इथानोल मिक्स गरेर प्रयोग गर्न सकिन्छ ।
यस्ता इन्जिनको निर्माण नै एकभन्दा धेरै प्रकारको इन्धनबाट चल्ने गरी बनाइएको हुन्छ । इन्जिन र फ्यूल सिस्टममा मात्र मोडिफिकेसन गरेकाले फ्लेक्स फ्यूल इन्जिन भएका सवारीसाधनहरु ग्यासोलीन जस्तै देखिन्छन् ।
परम्परागत ग्यासोलीनले गर्ने प्रदुषण कम गर्नका लागि फ्लेक्स फ्यूल टेक्नलोजीको विकास भएको हो । सन् १९९० को शुरुवात तिर विकास भएको यो प्रविधि जडान भएको पहिलो गाडी फोर्डले बनाएको थियो ।

