काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनीले बजाज इलेक्ट्रीक र कम्वस्चन दुबै मोटरसाइकल तथा स्कुटर उत्पादनमा आक्रामक देखिएको छ । कम्पनीले हालै मात्र इलेक्ट्रीक दुई पाङ्ग्रेका लागि छुट्टै प्लान्टको स्थापन गरिसकेको छ ।
बजाज अटोले छोटो समयमा नै आई इन्जिन भएको ३ नयाँ मोटरसाइकल सार्वजनिक गरेको थियो । कम्पनीले पल्सर सिरिज कै सबैभन्दा ठूलो मोटरसाइकल पल्सर २५० सिरिज र गत महिना पल्सर १६० एन सार्वजनिक गरेर आक्रमक बजार विस्तारको आफ्नो योजना प्रस्ट पारेको हो ।
त्यस्तै कम्पनीले कम्युटर सेग्मेन्टमा १२५ सीसीको नयाँ मोटरसाइकलको विक्री सुरु गर्ने तयारी थालेको छ । बजाज चेतक इलेक्ट्रीक मार्फत विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादनमा हात हालेको बजाजले नयाँ अर्को मोडलको तयारी थालेको छ ।
बजाजका उत्पादनहरु नेपालमा हंशराज हुलासचन्द एण्ड कम्पनीले विक्री वितरण गर्दै आएको छ । भारतीय बजारमा केही समय अगाडि सार्वजनिक भएको पल्सर २५० सिरिज र १६० एन नेपाल ल्याउने तयारीमा रहेको कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ ।

कम्पनीले केही समय अगाडि नै बजाज पल्सर २५० सिरिज भदौको पहिलो हप्ता हुने भनिएको नाडा अटो शोमा प्रदर्शन गर्ने तयारीका साथ काम गरिरहेको बताएको थियो । नाडा अटो शो स्थगित भएसँगै दशैंलाई लक्षित गरेर पल्सर २५० सिरिज सार्वजनिक गर्ने तयारी भइरहेको हो ।
त्यस्तै बजाजले गत महिना भारतीय बजारमा सार्वजनिक गरेको १६० एन मोडलसमेत नेपाल ल्याउने तयारी थालेको छ ।
पल्सर २५० एनको अवधारणमा तयार भएको पल्सर १६० एन दशैंसम्म नेपाल भित्र्याउने तयारी बजाजले गरिरहेको हो । बजाजले यी दुबै मोटरसाइकल नेपालमा नै एसेम्वल गरेर नेपाली बजारमा विक्री गर्नेछ । हाल बजाजका १०० सीसीदेखि ४०० सीसीसम्मका सबै मोटरसाइकल नेपालमा नै एसेम्वल हुँदै आएको छ ।

