नेपालमा पाइने कम मूल्यका चार डिजेल एसयूभी (मूल्यसहित)

काठमाडौं । कुनै समय थियो डिजेल कार पेट्रोलको तुलनामा धेरै विक्री हुन्थ्यो । अहिले समय फेरिएको छ । डिजेल कारको बजार लगभग सकिएको छ । ठूला एसयूभी र पीकअप भने डिजेलमै धेरै विक्री हुन्छ ।

कुनै समय नेपालमा इन्ट्री लेभल कार पनि डिजेल किन्न पाइन्थ्यो । ग्राहकको रुची पेट्रोल कार तिर बढेसँगै डिजेल कारको आयात न्यून हुँदै गयो । अहिले सब फोर मिटर सेग्मेन्नटमा हुन्डाई, किया, महिन्द्रा र टाटाले डिजेल कार उपलब्ध गराएका छन् ।

कियाले सोनेट एसयूभीको तीन भेरियन्ट डिजेल उपलब्ध गराएको छ भने महिन्द्राले पनि एक्सयूभी ३०० को तीन भेरियन्ट उपलब्ध गराएको छ । हुन्डाई र टाटाले भेन्यू र नेक्सनको एक÷एक भेरियन्ट मात्रै उपलब्ध गराएका छन् ।

अहिले नेपालमा उपलब्ध डिजेल कारमा सबैभन्दा कम सुरूवाती मूल्य भएको महिन्द्रा एक्सयूभी ३०० हो भने सबैभन्दा महंगो किया सोनेटको टप भेरियन्ट हो । महिन्द्रा एक्सयूभी ३०० डब्ल्यू फोरको मूल्य ४१ लाख २५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, सोनेटको टप भेरियन्ट जीटीएक्स प्लस भेरियन्टको ५९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

पेट्रोलको तुलनामा धेरै माइलेज पाइने भएको कारण डिजेल गाडी रोज्नेहरू पनि छन् । पेट्रोलको तुलनामा डिजेल कारको संचालन खर्च कम हुन्छ ।

महिन्द्रा एक्सयूभी ३००

भारतीय निर्माता महिन्द्राको एक्सयूभी ३०० नेपालमा खासै सफलता पाउन नसकेको मोडल हो । सेग्मेन्टमै उत्कृष्ट डिजाइन, सबैभन्दा राम्रो सुरक्षा फिचर, सेग्मेन्टकै ग्लोवल एनक्याप क्र्यास टेष्टमा सर्वाधिक स्कोर गर्न सफल मोडल भएरपनि नेपालमा यसले राम्रो व्यापार गर्न सकेको छैन ।

महिन्द्राले एक्सयूभी ३०० मा १४९७ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ११५ हर्सपावर प्रदान गर्छ । अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ३०० को डिजेल इन्जिनमा डब्ल्यू फोर, डब्ल्यू सिक्स, डब्ल्यू ८ र डब्ल्यू ८ अप्सनल मोडल विक्री गर्दै आएको छ ।

डब्ल्यू ४ भेरियन्टको ४१ लाख २५ हजार, डब्ल्यू सिक्स भेरियन्टको ४५ लाख, डब्ल्यू ८ भेरियन्टको ५१ लाख ५० हजार र डब्ल्यू ८ (ओ) को मूल्य ५७ लाख २५ हजार निर्धारण गरेर विक्री गर्दै आएको छ ।

हुन्डाई भेन्यू

हुन्डाई भेन्यूको एउटा मात्रै डिजेल भेरियन्ट नेपालमा किन्न पाइन्छ । हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भेन्यू एस मोडल विक्री गर्दै आएको छ ।

हुन्डाईले भेन्यूमा १.५ लिटर १४९३ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले १०० पीएस पावर प्रदान गर्छ । कम्पनीले भेन्यू एस डिजेल भेरियन्टको मूल्य ४६ लाख ९६ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

किया सोनेट

कियाले भारतमा उत्पादन गरेको सोनेटमा पनि हुन्डाई भेन्यूकै समान इन्जिन उपलब्ध छ । कियाले यसमा पनि १४९३ सीसी क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १०० पीएस पावर प्रदान गर्छ ।

कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले सोनेटको तीन भेरियन्ट नेपालमा विक्री गर्दै आएको छ । सानेटको डिजेलमा इन्ट्री भेरियन्ट एचटीएक्सको मूल्य ५१ लाख ९० हजार, एचटीएक्स अटोमेटीकको ५५ लाख ९० हजार र जीटीएक्स प्लस भेरियन्टको मूल्य ५९ लाख ९० हजार तोकेर विक्री गर्दै आएको छ ।

टाटा नेक्सन

टाटाले नेक्सनको पेट्रोल, डिजेल र ईभी विक्री गर्दै आएको छ । यसअघि थुप्रै भेरियन्टमा डिजेल नेक्सन उपलब्ध गराए पनि अहिले एक्सजेड भेरियन्ट मात्रै उपलब्ध गराएको छ । यसको मूल्य ५३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विक्री गर्दै आएको नेक्सनमा १४९७ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम १०८ पीएस पावर प्रदान गर्छ ।

 


Back_to_top